कपिलवस्तु , १३ साउन । कोरोना महामारी संगै सामुदायिक विद्यालयहरु बन्द छन् । करिब २ बर्ष देखि विद्यालय संचालनमा छैनन् । तर कपिलवस्तुको बुद्धभूमीमा एउटा यस्तो विद्यालय छ जहा त्यस अघि समेत लकडाउन थियो । विद्यालय सधै बन्द रहन्थ्यो । वडा नं. १० धनकौली स्थित अहले हदिस इस्लामिक मदरसा आधारभूत विद्यालयका संचालक, शिक्षक र विद्यार्थी एउटै घरका छन् । विद्यालयको संचालक समिति अध्यक्ष अब्दुलरब मुसलमान छन् । उनका छोरा इलियास मुसलमान त्यहि विद्यालयको प्रअ छन् र तिनकै दाजुभाई र उनका गरि ८ जना बालबालिका विद्यार्थी छन् । विगत ६ बर्ष देखि त्यो विद्यालय त्यहि परिवारकै वरपर चलिरहेको छ ।
आधारभूत तह सम्म संचालन मान्यता पाएको विद्यालयमा सुविधा सम्पन्न ४ कोठे भवन छ । शौचालय छन् । आवश्यक पूर्वाधार छन् । तर विद्यार्थी र शिक्षक छैनन् । प्रअ इलियास मुसलमानले कागजमा भने स्थानीय अर्कै मदरसाका केहि बालबालिका र धनकौली माविका केहि बालबालिकाको नाम लेखेर कक्षा ३ सम्मका ३० जना बालबालिका रहेको देखाएपनि त्यहा अध्ययन गर्न जाने उनका परिवारका ८ जना बालबालिका बाहेक कोहि नरहेको स्थानीय मुबारक अलिले बताउनुभयो । मदरसा (विद्यालय) संचालनका लागि नगरपालिकाले बार्षिक एकमुष्ठ दिने रकम समेत कागजात मिलाएर प्रअ इलियासले दुरुपयोग गर्ने गरेको उहाँको आरोप छ । “बुबा अध्यक्ष आफु प्रअ घरका बालबालिका विद्यार्थी अनि सबै पैसा मिलाएर खाने तर विद्यालयमा सधै ताल्चा हान्ने यसरी मदरसा र मुस्लिम बालबालिकाको विकास हुन्छ” उहाले भन्नुभयो ।
गत आ.ब.मा मात्रै प्रदेश सरकारले विद्यालय संचालनका लागि १० लाख रुपैया अनुदान उप्लब्ध गराएको छ । अनुदान कार्यविधिमा शिक्षक तलब समेत रहेकाले बाध्य भएर २ शिक्षक र १ कर्मचारी नियुक्त गरेपनि उनले त्यसमा समेत शोषण गर्ने गरेको पाइएको छ । प्रअ इलियासले स्थानीय मुदिम धुनिया, विष्णु घिमिरे र सुजता चौधरीलाई शिक्षकको रुपमा नियुक्त गरेका छन् । तर शिक्षिका सुजाता चौधरी र मुदिम धुनियालाई नियुक्ती पत्र समेत दिइएको छैन । मुसलमानको अनुसार धुनियालाई मासिक २२ हजार र घिमिरेको मासिक १० हजारका दरले तलव दिइएको छ । तर शिक्षिका घिमिरेले भने मासिक ६ हजारका दरले बैंक खातामा तलव जम्मा भएको बताउनुभयो । शिक्षिका चौधरीले भने मासिक ३ हजारका दरले पारिश्रमिक पाउनुभएको दुखेसो पोखिन् । उनीहरुले विद्यालयमा नियमित रुपमा ७–८ जना मात्र विद्यार्थी आउने र उनीहरुलाई एउटै कक्षाकोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको समेत बताउनुभयो ।
प्रअ इलियासले त्यति मात्र नभई नगरपालिकाबाट गत आबमा विद्यालयमा शौचालय निर्माणका लागि ६ लाख ६० हजार रकम पाएको र उक्त रकमबाट बनाइएको शौचालय निकै कमसल र गुणस्तरहिन भएको स्थानीयले आरोप लगाए । ३–४ लाखमा सम्पन्न भएको शौचालयमा समेत अनियमितता गरियो, प्रयोग विहिन अवस्थामा छ, नगरपालिकाले छानबिन समेत गरेन भुक्तानी दियो” स्थानीय जमिउल्लाह मुसलमानले भन्नुभयो । विद्यालय छात्रवृत्तिको रकम समेत फर्र्जि विद्यार्थी देखाई हिनामिना गरेको उहाको आरोप छ । स्थानीय समाजसेवी नजाम मुसलमानले धनकौली गाउँमा करिब २ सय बढि बालबालिका रहेको र ति मध्ये अधिकांश मुस्लिम रहेपनि मदरसा बन्द हुदा धनकौली वा अर्को मदरसामा पढ्न जान बाध्य भएको बताउनुभयो । धार्मिक विद्यालयमा भएको अनियमितता बारे अख्तियार देखि नगरपालिका सम्म उजुरी पर्दा समेत सरोकारवालाले चासो नदेखाएको भन्दै यसले थप शैक्षिक विकृति ल्याउने दाबी गर्नुभयो ।
विद्यालयका प्रअ इलियास मुसलमानले भने विद्यालय स्थापनाका लागि आफ्नो परिवारको लगानी भएको र अभिभावकहरुकै सल्लाहमा आफ्नो बुबा अध्यक्ष बनेको बताउनुभयो । कोरोना लकडाउनले केहि विद्यार्थी घटेको बताउदै परिवारका बालबालिका पढ्न पाइदैन भनेर कहाँ लेखेको तर्क गर्नुभयो । आफुले अनियमितता गरे सम्बन्धित निकायले छानबिन गरि कारवाही गर्ने इलियासको दाबी छ ।
प्रतिक्रिया