कपिलवस्तु १७ साउन । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ११ मा रहेको झिन्ना माध्यामिक विद्यालयले २० वढी बालबालिकालाई भर्ना नलिएपछि साता देखी भर्नाको लागि विद्यालय धाउदै आएका छन् । महाराजगन्ज नगरपालिकाका नगरप्रमुख सर्मथक र वडा नं. ११ का वडा अध्यक्ष सर्मथक विच व्यवस्थापन समितीको चुनावमा मतको अंकगणितका कारण भर्नाबाट बन्चित भएको स्थानीयको दावी रहेको छ । यहा भर्ना पाउन महाभारतको यूद्ध जिते सरहको कष्ट श्रृजना गरिएको छ ।
भर्ना लिन आलटाल गर्नेमा अधिकांश दलित समुदायका बालबालिका रहेका छन् । वडा नं. ११ का बनगाई र बडेगाउँ टोलका अभिभावक बाल बालिका र जन्म दर्ता लिएर विद्यालय परिसरमा भर्नाको लागि धाउनु परेको छ । विद्यार्थी भर्ना को विषयमा बिवाद भएको विषयलाई लिएर गुनासो आएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव रेश्मी राज अर्यालले बताउनु भयो ।
जन्मदर्ता भएका ५–९ उमेर समुहका बालबालिकालाई जन्मदर्ताका आधारमा कक्षा १ मा र सो भन्दा माथीको कक्षाका स्थानान्तरण प्रमाणपत्रको आधारमा भर्ना गर्न विद्यालयलाई निर्देशन दिएको अर्यालले बताउनु भयो । हाल कोभिडका कारण विद्यालय संचालन नभए पनी भर्ना प्रकृयाका लागि विद्यालय संचालन भएका छन् ।
यता विद्यालयका प्रधानाध्यापक रुद्रेशनाथ तिवारीले काजजात पुराउन नसकेका कारण भर्ना नलिएको बताउनु भयो । जन्मदर्ता र अन्य विद्यालयबाट आएकाको स्थानान्तरण पत्र भएकाको नियमित भर्ना भएको तिवारीको दावी रहेको छ । तर विद्यालयले राजनैतिक प्रतिशोधका कारण भर्ना लिन आनकान गरेको स्थानीय जनार्धन प्रसाद कुर्मीले बताउनु भयो । विद्यालयमा व्यवस्थापन समिती निर्वाचनमा अभिभावकले मतदान गर्ने भएकोले दुवै पक्ष विच भर्ना गर्ने होटवाजी चलेको छ । वडा अध्यक्ष जगदिश तिवारीका परिवारका सदस्य अध्यक्ष र प्रधानाध्यापक भएको कारणले मनोमानी तरीकाले भर्ना गरेको स्थानीय अगुवा जगन्नाथ पुरीको आरोप रहेको छ । पुरी नगरप्रमुख अब्दुल कलाम सर्मथक मानिदै आएका छन् ।
प्रतिक्रिया