काठमाडौं २५ साउन। नेकपा एमालेले २३ वटा विषयमा विधान संशोधन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीले पास गरेको विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमालेको विधान संशोधन प्रस्तावमा सदस्यता वितरणदेखि पदाधिकारीको संख्यासम्म निर्धारण गरिएको छ । एमालेले अब सदस्यतालाई एकरुपता दिने भएको छ । यसअघि संगठित सदस्यताको छुट्टै प्रावधान थियो । अब सदस्यता प्रदान गर्न तीन स्टेप पार गर्नुपर्ने छ । जिल्लाले सदस्यता दिने छ भने केन्द्रले सदस्यता नम्बर प्रधान गर्ने छ ।
एमालेले हालको केन्द्रीय समितिको संरचनालाई बदल्दै २२५ सदस्यीय बनाउने भएको छ । त्यसमा अध्यक्ष एक, उपाध्यक्ष २, महासचिव एक, उपमहासचिव दुई र सचिव सातजना बनाउने निर्णय गरेको छ ।
तर, पदाधिकारीमध्ये अध्यक्ष र महासचिव महाधिवेशनले निर्वाचित गर्ने र अरु केन्द्रीय सदस्यहरुले चुन्ने व्यवस्था गरेको छ । यो सँगै एमालेमा अध्यक्षलाई थप शक्तिशाली बनाउने प्रयास भएको छ ।
नयाँ विधानअनुसार अब एमालेको स्थायी कमिटी ३५ सदस्यीय बन्नेछ भने ७ सदस्यीय सचिवालय बन्नेछ । महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय सञ्चालन समिति गठन हुनेछ । पोलिटब्युरो कमिटी भने हटाइने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रदेश कमिटी र जिल्ला कमिटी र पालिका कमिटीको व्यवस्था गरेको र ती निकायको महाधिवेशन मितिसमेत तय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।एमालेले संगठनभित्रको निर्वाचन प्रणालीमा पनि फेरबदल गरेको छ।
त्यस्तै पार्टीका औपचारिक कार्यक्रममा पार्टीको झण्डा राख्ने, सबै तहमा ३३ प्रतिशत महिला सुनिश्चित गर्ने आदि प्रस्ताव अगाडि सारेको छ ।
सोमबार बसेको बैठकले विधान महाधिवेशनका लागि चारवटा समिति गठन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । एमालेले आगामी भदौ २७ र २८ गते तय गरिएको विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न चारवटा मस्यौदा समितिलाई पूर्णता दिएको छ ।
बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिका सदस्यहरुको नाम पेस गरेका थिए । संयोजक भने यसअघि नै तोकिसकिएको छ ।
बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको छ । समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।
प्रतिक्रिया