काठमाडौं, ७ भदौं । एमालेबाट विभाजित भई बनेको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।
बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूलाई दायाँ–बायाँ हुन् नदिने उद्देश्यले उनीहरूलाई एकत्रित गरी आवासीय भेलामा राख्न लागिएको हो । नेपाल पक्षका नेताहरुलाई राख्नका लागि आज (सोमबार) करिब ६० कोठा बुकिङ गरिएको छ । त्यहाँ नेपाल निकट केन्द्रीय सदस्य र सांसदहरू छन् ।
आजै (सोमबार) ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोट सहमति भएको छ । उनीहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ । तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्ने देखिएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँ–बायाँ हुन नदिन रिसोर्टमा पुर्याएका हुन् ।
‘कुन–कुन तहका नेताहरू छन् भन्ने हामीले यकिन गर्न सक्दैनौं,’ स्रोत भन्छ, ‘तर ४० देखि ६० जनाका लागि सोमबार राति बस्ने गरी कोठा बुकिङ भएको छ ।’ यता नेता नेपाललाई साथ नदिएका नेताहरुसँगको बालकोट वार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयनका लागि सैद्धान्तिक सहमति जनाएका छन् । १० बुँदे सहमति अनुसार अघि बढ्न ओली तयार भएपछि मंगलबार स्थायी कमिटी वैठक बोलाइएको छ । वैठकले पार्टी एकताका लागि आह्वान गर्ने बताइएको छ ।
प्रतिक्रिया