काठमाडौं १६ असोज। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले २२औँ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन ६ देखि ९ असोजसम्म पोखरामा चलेको थियो ।सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नवनिर्वाचित अध्यक्ष शाहीले सम्मेलनले २१औँ राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तुत गरेको जानकारी दिए । उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषय सम्मेलनमा उठान गरिएको बताए ।अनलाइन शिक्षाका नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरी तत्काल भौतिक कक्षा संचालन गर्नसमेत उनले माग गरेका छन् । सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको उनको आरोप छ । शाहीले सरकारबाट मुठ्ठीभरका मानिसले मात्र लाभ पाइरहेको आरोप लगाए ।
देशको विद्यमान शिक्षा क्षेत्रले सम्पूर्ण विद्यार्थीको भविष्य सुनिश्चित गर्न नसक्ने उनको ठहर छ । उनले दुर्गम क्षेत्रका विद्यार्थीको पढाइको स्तर खस्किनुमा भौतिक सुविधा नहुनु प्रमुख कारण भएको बताए ।देश कोरोना संकटबाट आक्रान्त बनेका बेला संक्रमित सबै नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्नुका साथै सम्पूर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गरिनुपर्छु, उनले भने ।उनले मेडिकल शिक्षामा भएको बेथितिको अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजको विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष नरेन्द्र विश्वकर्माले जनमतसंग्रह पार्टीको मुख्य एजेन्डा बनाउने बताए ।वैज्ञानिक समाजवादी व्यवस्था र दलाल पुँजीवादी संसदीय व्यवस्थाका विषयमा तत्काल जनमतसंग्रहको घोषणा गर्न सरकार समक्ष माग गर्छौ उनले भने ।यस्तै, महासचिव मिलन राईले जनताको जनजीविकाको अवस्था अत्यन्तै कमजोर भएको भन्दै अझै पनि नेपालमा राजनीतिक परिवर्तन भई नसकेको बताए ।








प्रतिक्रिया