अर्थ-वाणिज्य

बुद्धभूमिको भौतिक प्रगति उच्च, वित्तीय खर्चमा सुधार



प्रेसपाटी डेक्स, १७ कात्तिक

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले विकास कार्यक्रम तथा योजनाको भारित प्रगतिमा उच्च उपलब्धि हासिल गरेको देखिए पनि वित्तीय प्रगति अपेक्षाकृत हुन सकेको देखिदैन । नगरपालिकाको वार्षिक समीक्षा प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ९७.६७ प्रतिशत रहेको भारित प्रगति आर्थिक वर्ष २०८२/०८३ मा बढेर ९७.७९ प्रतिशत पुगेको छ। तर सोही अवधिमा वित्तीय प्रगति भने ५३.५९ प्रतिशत बाट बढेर ६७.०३ प्रतिशत पुगेको छ।
दुई आर्थिक वर्षको तथ्यांक तुलना गर्दा नगरपालिकाको भारित प्रगतिमा ०.१२ प्रतिशत बिन्दुको वृद्धि भएको छ भने वित्तीय प्रगतिमा १३.४४ प्रतिशत बिन्दुको सुधार देखिएको छ। यसले योजनाको समग्र कार्य सम्पादनमा निरन्तरता कायम रहनुका साथै बजेट खर्च गर्ने क्षमतामा समेत सुधार हुँदै गएको संकेत गर्छ।
आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाले भारित प्रगतितर्फ ९७.६७ प्रतिशत उपलब्धि हासिल गर्दा वित्तीय प्रगति भने ५३.५९ प्रतिशतमा सीमित थियो। आर्थिक वर्ष २०८२/०८३ मा भारित प्रगति ९७.७९ प्रतिशत पुगेको अवस्थामा वित्तीय प्रगति पनि बढेर ६७.०३ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
तथ्यांकले भारित प्रगति र वित्तीय खर्चबीच उल्लेख्य अन्तर रहेको देखाउँछ। आर्थिक वर्ष २०८२/०८३ मा भारित प्रगति ९७.७९ प्रतिशत हुँदा वित्तीय प्रगति ६७.०३ प्रतिशत मात्र हुनु योजनाको कार्यसम्पादन र बजेट खर्चको उपलब्धिबीच थप विश्लेषण आवश्यक रहेको देखिन्छ । उच्च भारित प्रगतिले मात्रै विनियोजित बजेटको प्रभावकारी उपयोग र नागरिकले अपेक्षा गरेको प्रतिफल सुनिश्चित भएको निष्कर्ष निकाल्न सकिँदैन।
वित्तीय प्रगतिमा अघिल्लो वर्षको तुलनामा सुधार देखिनु सकारात्मक पक्ष हो। तथापि, करिब एकतिहाइ वित्तीय हिस्सा खर्च हुन नसकेको अवस्थाले बजेट कार्यान्वयनका प्रक्रिया, योजना छनोट, खरिद व्यवस्थापन, ठेक्का प्रणाली तथा समयमै काम सम्पन्न गर्ने क्षमताबारे समीक्षा गर्नुपर्ने देखिन्छ।
स्थानीय सरकारको सफलता बजेट खर्चको प्रतिशत वा प्रगति प्रतिवेदनमा देखिने अंकमा मात्र मापन हुँदैन। योजनाको गुणस्तर, निर्माण सम्पन्न भएका संरचनाको उपयोगिता, सेवाप्रवाहमा आएको सुधार र नागरिकले प्राप्त गरेको प्रत्यक्ष लाभ पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। त्यसैले आगामी दिनमा बुद्धभूमि नगरपालिकाले वित्तीय प्रगतिलाई थप प्रभावकारी बनाउँदै खर्चको गुणस्तर र योजनाको दिगोपनामा ध्यान दिन आवश्यक रहेको अर्थ क्षेत्रका जानकारहरुको भनाई रहेको छ ।

प्रकाशित : १९ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६