काठमाण्डौं,२२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नुभएको छ ।
माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्यविनायकमा आज शुक्रवार आयोजना गरेको भक्तपुर विस्तारित बैठक एवम् प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पछिल्लो समयमा हरेक पार्टीको समस्यासमेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताउनुभएको हो ।
उहाँले अबको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गर्दै भन्नुभयो, ‘गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेन्डा हो, त्यही एजेन्डाको फाइदा अहिले अरू पार्टीले लिइरहेका छन्, नागरिकले पछिल्लो समयमा नागरिकको मुद्दा उठाउने पार्टी माओवादी केन्द्र मात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुस्, हाम्रो पार्टी फेरि पनि एक नम्बरमा आउँछ ।’
अध्यक्ष प्रचण्डले अरू पार्टीसँगको एकतालाई जोड दिएर जाँदा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन वैचारिक, राजनीतिक र साङ्गठानिक रूपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै नागरिकको माया पाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नागरिकको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम नागरिकलाई परे पनि पछिल्लो समयमा प्रतिमगनविरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि नागरिकले फेरि विश्वास गरेको भन्दै उहाँले देश र नागरिकका लागि लड्ने एकमात्र पार्टी माओवादी केन्द्र नै भएको नागरिकले फेरि बुझेको बताउनुभयो । उहाँले भक्तपुरबाट संशोधनवादीलाई लखेट्नुपर्छ भन्दै त्यस्ता तत्त्व जुन जिल्लामा पुग्छन्, त्यहीबाट लखेट्नु पर्छ भन्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज देवेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला संयोजक डिपि ढकाल, वाग्मती प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ, जनवर्गीय सङ्गठन इन्चार्ज सुरेश न्यौपाने, ओम वाग्लेलगायतले पार्टीलाई देशको पहिलो दल बनाउन सबै सक्रिय रहने बताउनुभयो ।








प्रतिक्रिया