काठमाडौं ३ मंसिर । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनमा ७ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ।महाधिवेशनको सन्दर्भमा बिहीबार प्रकाशित विशेष ई-बुलेटिन ‘नवयुग’मा प्रकाशित आर्थिक कमिटीका संयोजक विष्णु रिमालले सो खर्चको अनुमान गरेका हुन्।रिमालले ८औं महाधिवेशनमा करिब २ करोड २५ लाख, ९औं महाधिवेशनमा ४ करोड २५ लाख र विधान महाधिवेशनमा करिब ५ करोड खर्च भएको सन्दर्भलाई तुलना गर्दै १०औं राष्ट्रिय महाधिवेशनमा ७ करोड ५० लाख खर्च अनुमान गरेका हुन्।
‘हामीले सबैभन्दा पहिला प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेका छौं,’ रिमालले भनेका छन्, ‘पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको संख्या ८ लाख ५५ हजार ४ सय ५३ छ। यति पार्टी सदस्यले न्यूनतम सय रुपैयाँ मात्रै सहयोग गर्नुभयो भने यो परिणाम ठूलो हुनेछ। त्यसबाट हामीले महाधिवेशन खर्चको व्यवस्थापन गर्ने भनेका छौं।’
उनले यसपटक यति रकम चाहियो भनेर कसैलाई पनि पत्र नकाटेको, रसिद नछापेको गरेको भन्दै यो प्रयोग नयाँ गरिएको बताएका छन्।महाधिवेशनमा प्रतिनिधिका लागि आवास र साँझ/बिहान खानाको लागि सौराहका विभिन्न होटलमा ३५ सय जति बेडको लागि सम्झौता गरिसकेको बताएका छन्।
‘उद्घाटनको भोलिपल्टदेखि दिउँसो खानाका लागि सामूहिक व्यवस्था गरेका छौं। ११ गते बेलुका ऐक्यबद्धता साँझको रुपमा त्यहाँका स्थानीय नेताहरुको समेत उपस्थितिमा खानाको व्यवस्थापन गरेका छौं। बाँकी ब्रेकफास्ट र साँझको खानाका लागि जुन होटलमा प्रतिनिधि राख्छौं। त्यहीँ नै व्यवस्थापन गर्ने तयारी गरेका छौं’, रिमालको भनाइ छ ।








प्रतिक्रिया