लुम्बिनी,१० मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट ५० जना बढी नेताहरु आकांक्षी देखिएका छन् ।
एमालेको १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका ८ जना नेताहरूले दाबी गरेका छन् । २ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा ३५ भन्दा बढी नेताले आकांक्षा राखेका छन् ।
अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल दाबेदार छन् । उनीहरुले आफ्ना निकट कार्यकर्तामार्फत सामाजिक सञ्जालबाट उम्मेदवारी सार्वजनिक गरेका छन् ।
रुपन्देही–२ का संघीय सांसद समेत रहेका उपमहासचिव पौडेल एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाको पनि महासचिव थिए । अहिले एमालेको संगठन विभाग प्रमुख छन् । पार्टीमा सबै पक्षलाई समन्वय गरेर लैजान सक्ने र यसअघि महासचिव भइसकेकाले महासचिवमा पौडेलले नै बाजी मार्ने उनी निकट नेताहरुको दावी छ ।
उता लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य दाङका पोखरेल पनि महासचिव बन्न चाहन्छन् । पार्टी अध्यक्ष ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विश्वासपात्र समेत रहेका पोखरेल वैचारिक नेता नभएकाले महासचिवमा पोखरेलको आवश्यकता रहेको उनी निकटका नेताहरुको तर्क छ । तर दुबैजनाले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।
पार्टीको उपाध्यक्षमा यसअघि लामो समय माधव नेपाल समूहमा रहेका एमालेका हालका उपाध्यक्ष युवराज ज्ञवाली दोहोरिन चाहन्छन् ।
उपमहासचिव रुपन्देहीका घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दिने उनी निकटका नेताहरु बताउँछन् ।
सचिवद्वय गुल्मीका गोकर्ण विष्ट र प्रदीप ज्ञवाली उपमहासचिव वा सहमति भएमा पुरानै पदमा रहन पनि तयार रहेको नेताहरु बताउँछन् ।
स्थायी कमिटी सदस्य रुपन्देहीका छविलाल विश्वकर्माले पनि पदाधिकारीमा दाबी गरेका छन् । त्यस्तै रुपन्देहीकै राधा ज्ञवालीले सचिवमा दाबी गरेकी छन् ।
केन्द्रीय सदस्यमा ३५ भन्दा बढी आकांक्षी
पार्टीको केन्द्रीय कमिटीमा लुम्बिनीबाट ३५ भन्दा बढी आकांक्षी देखिएका छन् । लुम्बिनी प्रदेश एमालेको गढ भएकाले यहाँबाट पुराना र नयाँ धेरै नेताले केन्द्रीय सदस्यमा आउन चाहेको एमाले लुम्बिनी प्रचारप्रसार विभागका संयोजक झपेन्द्र जीसीले बताए ।
रुपन्देहीबाट प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, एमाले रूपन्देही अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश सांसद तुलसी चौधरी, दधिराम न्यौपाने, नेताद्वय बलबहादुर आचार्य, सावित्रा अर्याल, बुटवलका उपप्रमुख गोमा आचार्य, तिलोत्तमा नगरपालिकाका प्रमुख बासु घिमिरे केन्द्रीय सदस्यका नयाँ आकांक्षी हुन् ।
कपिलवस्तुबाट प्रदेशसभा सदस्य विष्णु पन्थी, बलराम अधिकारी, विश्रामप्रसाद थारू, शान्तिदेवी चमार केन्द्रीय सदस्यका आकांक्षी हुन् । पश्चिम नवलपरासीबाट जिल्ला अध्यक्ष तुलसी पासी, केन्द्रीय स्कुल विभागका सदस्य बद्रीनाथ खनाल, अनेमसंघ केन्द्रीय सचिवालय सदस्य विमला अर्याललगायत नेताहरू केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने बताउँछन् ।
यस्तै दाङबाट जिल्ला अध्यक्ष टीकाराम खड्का,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, प्रदेश सांसद सरस्वती गौतम, रेवतीरमण शर्मा घिमिरे, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिकाका मेयर कुलबहादुर खत्री, गंगा चौधरीले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन् ।
प्युठानका प्रदेश सांसद हरि रिजाल, बाँकेका कविराम थारू, रुकुम पूर्वबाट आशा स्वर्णकार लगायतका नेताहरु केन्द्रीय सदस्यका आकांक्षी हुन् । लुम्बिनी प्रदेशबाट महाधिवेशन प्रतिनिधिका रुपमा २०८ जना छनोट भएका छन् ।
साभार









प्रतिक्रिया