अर्थ-वाणिज्य

राप्रपा : ३१ बर्षे इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारी निर्वाचन प्रक्रियाबाट चुन्ने तयारीमा



काठमाडौं ११ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३१ बर्षे राजनीतिक इतिहासमा पहिलो पटक अध्यक्षसहित पदाधिकारीहरु पनि महाधिवेशनको निर्वाचन प्रक्रियाबाट चुन्ने भएको छ ।

राप्रपाले बिहीबार पार्टीको विधानमा गरिएको संशोधनलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित गर्दै अध्यक्षसहितका सात पदाधिकारी निर्वाचन प्रक्रियामार्फत चुन्नेगरी विधानमा व्यवस्था गरेको हो । कार्यसम्पादन समितिबाट पारित विधानअनुसार राप्रपाको केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ ।

संशोधित विधान केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको र पारित विधानअनुसार अध्यक्षसहित सात पदाधिकारी निर्वाचनमार्फत चुन्ने व्यवस्था गरिएको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार संशोधित विधानलाई आगामी महाधिवेशनबाट अनुमोदन गरिने छ भने अनुमोदनपछि यही महाधिवेशनबाट लागू गरिने छ ।

राप्रपाको केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रियाका लागि १५ देखि १७ मंसिरसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । राप्रपाको बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिबाट पारित विधानको मस्यौदामा केन्द्रीय समितिका अध्यक्ष, एक महिलासहित ३ जना उपाध्यक्ष, एक महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने व्यवस्था गरिएको छ ।

राप्रपा नेता निरञ्जन थापा नेतृत्वको विधान संशोधन सुझाव समितिले तयार गरेको विधान संशोधनको मस्यौदा परिमार्जनसहित पारित गरिएको हो ।

सो विधानअनुसार राप्रपाको केन्द्रीय समितिमा एक जना अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष, प्रवक्ता, सहायक प्रवक्ता, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित केन्द्रीय सदस्यसमेत गरी १ सय ९९ सदस्यीय कार्यसमिति हुने भएको छ । तर, प्रवक्ता र सहायक प्रवक्ताको संख्या भने उल्लेख छैन ।

केन्द्रीय समितिमा ७५ प्रतिशत अर्थात् १ सय ४९ जना भने निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये ३३ प्रतिशत अर्थात् ४९ जना महिला हुनेछन् भने बाँकी सय जना पुरुष हुनेछन् ।

राप्रपामा निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित ३ जना (२ पुरुष १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र २ जना (एक महिला एक पुरुष) मुस्लिम ३ जना (२ पुरुष एक महिला), थारु २ जना (एक पुरुष एक महिला) र प्रवासबाट २ जना निर्वाचित हुनेछन् ।

पार्टीका २५ प्रतिशत केन्द्रीय सदस्य भने निर्वाचित अध्यक्षले मनोनित गर्नेछन् । राप्रपाको केन्द्रीय नेतृत्व चुन्ने प्रक्रियाका लागि देश तथा विदेशबाट गरी ४ हजार ५ सयको संख्यामा महाधिवेशन प्रतिनिधि सहभागी हुने बताइएको छ । राप्रपा महाधिवेशनमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रबाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी ९ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यसरी चुनिने महाधिवेशन प्रतिनिधिको संख्या २ हजार ९ सय ७० जना हुनेछ ।

महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष ३ सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । महाधिवेशनमा सहभागी हुन १५ जना प्रवासबाट समेत प्रतिनिधि आउने छन् ।

त्यस्तै अध्यक्षत्रयले समेत केही संख्यामा महाधिवेशन प्रतिनिधि मनोनित गरेर ल्याउने छन् । यो संख्या करिब पाँच प्रतिशत हुने बताइएको छ ।

प्रकाशित : ११ मंसिर २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६