काठमाडौं, ११ मंसिर । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको महामारी बढ्दै गएको र कोरोना भाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनुपरेको उनले स्पष्ट पारेका छन् ।
‘पछिल्लो समयमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको संख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो’, गभर्नरले भनेका छन् । कोरोना भाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनु परेको उनको भनाइ छ ।
अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकताअनुसार लम्बिन पनि सक्ने उनले स्पष्ट पारेका छन् । शुक्रबार बेलुका निर्देशन जारी गर्दै उनले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता बृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिए । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उनको भनाइ छ ।
दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोना भाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्व सतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् । न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरूलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ । त्यसैगरी बेलायत, क्यानडा लगायत कैयौं युरोपेली मुलुकहरूलाई समेत विदेशबाट आउने यात्रुहरूको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।
प्रतिक्रिया