अर्थ-वाणिज्य

शोभाकान्त ढकालसहित पाँच जनाले साढे २ आर्ब राजस्व छलेको खुलासा



काठमाडौं २० पुस । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य आरोपित शोभाकान्त ढकालसहित पाँच जनाबिरुद्ध राजस्व छलीमा पनि मुद्धा दायर भएको छ । ढकालसहित पत्नी उमाकुमारी ढकाल, पारिवारिक सदस्य सरोज ढकाल, आनसान इन्टरनेशनल प्रालीका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध राजस्व अनुसन्धान विभागले बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

ढकाल दम्पतीसहित सरोज र सान्टु आनसान इन्टरनेशनल प्रालीका सञ्चालक हुनुहुन्छ । उक्त संस्थाको लेखा परीक्षण गर्ने राजेश्वर श्रेष्ठलाई पनि विभागले कसुरदार देखाएको छ । शोभाकान्त ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार रहेको तथ्य बाहिर आइसकेको छ । ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा विशेष अदखालतमा दायर गरेको मुद्दा विचाराधिन छ । अदालतको आदेशमा ढकाल हाल डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनु भएको छ ।

ललिता निवास प्रकरणको किर्तेमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले पनि ढकाल दम्पतीसहित ३ सयभन्दा बढीलाई मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ । ललिता निवास प्रकरणमा किर्तेमै अनुसन्धान जारी रहेका बेला राजस्वले पनि राजस्व चुहावट गर्ने मनसायले जालसाजी, नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विवरण, वित्तीय विवरण तथा आयविवरण तयार पारी फर्मबाट कारोबार शून्य देखाएर राजस्व छलेको कसुरमा मुद्दा दायर गरेको हो । विभागका अनुसार आरोपितहरुले मूल्य अभिवृद्धिकर तर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांश तर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ गरी कूल १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

चुहावट भएको रकम बिगो र सोही बराबरको रकम जरिवाना मागदाबी गर्दै मंगलबार विभागले मुद्दा दायर गरेको हो । आनसानका चारैजना सञ्चालकलाई बिगो र जरिवानाबाहेक ३ वर्ष कैदको मागदाबी गरिएको छ । बिभागले लेखापरीक्षण गर्ने श्रेष्ठलाई भने १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६