काठमाडौं
२५ पुस/ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो ।
आइतबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्दको निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो । त्यस्तै गृह मन्त्रालयलाई २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने व्यवस्थाका लागि सिफारिस गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाले विद्यालय बन्द गर्ने सिफारिस भएको जानकारी दिए ।
यसअघि राज्यमन्त्री उमेश श्रेष्ठसहित सीसीएमसीका पदाधिकारीले सरोकारवालासँग छलफल गरेका थिए । विद्यालय बन्द गरेपछि कोरोना संक्रमणको चेन ब्रेक गर्न सहयोग पुग्ने अधिकारीहरूले बताएका छन् ।
त्यस्तै संक्रमणको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीले स्मार्ट लकडाउन गर्न सक्ने पनि सीसीएमसीको निर्णय छ ।
प्रतिक्रिया