प्रतिपक्षी एमालेले माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रक्रियामा प्रवेश नगर्ने स्पष्ट पारेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार साँझ भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले ६ महिनादेखि उठाएका माग स्मरण गराउँदै ती माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रक्रियामा प्रवेश नगर्ने बताएका हुन् ।भेटवार्ताको क्रममा देउवाले सत्तारुढ दलहरुभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसिसी पास गर्न सघाउन आग्रह गरेका थिए । देउवाले ओली प्रधानमन्त्री भएकै बेला संसदमा दर्ता भएको एमसिसी अनुमोदनमा सहयोग गर्नु एमालेको दायित्व भएको बताएका थिए ।भेटवार्ताका लागि ओलीसँगै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल बालुवाटार गएका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि भेटवार्तामा सहभागी थिए ।
‘एमसिसी संसदमा टेबुल गरेकै दिन भेट गर्ने भन्ने थियो । सडक आन्दोलनका कारण त्यो दिन भेट हुन नसकेपछि आज छलफल भएको हो । प्रधानमन्त्रीले एमसिसी अनुमोदन गराउन सघाउन आग्रह गर्नुभयो । हामीले हाम्रा माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश नगर्ने स्पष्ट रुपमा भनेका छौँ ’ रिमालले भने ।एमालेले पार्टीले निष्काशन गरेका १४ सांसदलाई कारबाही हुनुपर्ने माग गर्दै संसद बैठकमा निरन्तर नाराबाजी गर्दै आइरहेको छ । एमालेले सभामुख अग्नि सापकोटाको राजीनामा समेत मागेको छ ।सत्तारुढ दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसीको विपक्षमा उभिने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले ओलीसँग छलफल गरेका हुन् । यसअघि देउवा ओलीनिवास बालकोट पुगेर छलफल गरेका थिए । देउवाले एमसिसी अनुमोदन गर्ने गरी रणनीतिक छलफल गरिरहेका छन् ।
प्रतिक्रिया