काठमाडौँ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदै छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्ष रूपमा हुन नसकेको बैठक यसपटक भौतिक रूपमै हुन लागेको हो ।
२०७६ असोज २७ र २८ गते संयुक्त निर्देशक समितिको बैठकमा भारतको बैंगलोरमा भएको थियो । यसअघिका अनौपचारिक बैठक श्रव्यदृश्यका माध्यमबाट आयोजना गरिएको थियो । आज सुरु हुने बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहत निकायका अधिकारी सहभागी हुनेछन् । यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।
आजको बैठकमा सह–सचिवस्तरीय समितिले एजेन्डा तय गर्नेछ । भोलि भने सचिवस्तरीय बैठक हुनेछ । बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत् भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । यसअघि प्राधिकरणले देवीघाट र त्रिशूली जलविद्युत् आयोजनाको कूल ३९ मेगावाट मात्रै निर्यात गर्ने अनुमति पाएको थियो ।
यस्तै, बैठकमा नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुनेछ । आगामी मनसुनमा नेपालको बिजुली खेर जाने अवस्था आएकाले कुनै न कुनै कोणबाट सम्बोधन गर्ने गरी यस पटक प्रयास गरिएको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
बैठकमा भारतीय कम्पनीले सङ्खुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना र त्यसको प्रसारण लाइन निर्माणको बारेमा छलफल हुने मन्त्रालयले जनाएको छ । यसैगरी, भारतले नेपालसँग मिलेर ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव राखेको छ । समान लगानीमा सरकारी स्वामित्वको कम्पनी खडा गरेर आयोजना निर्माणका लागि प्रस्ताव भारतको तर्फबाट पेस भएको र त्यसमा आवश्यक छलफल हुने बताइएको छ ।
प्रतिक्रिया