काठमाडौं, १३ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी गरेका छन् ।
गठबन्धन पनि जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पनि पारित गर्ने समझदारी भएको खबर पढेपछि ओली आक्रोसित रुपमा प्रस्तुत भएका हुन् ।
पोखरामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा आफैंले अगाडि बढाएको एमसीसीबारे सरकारमा बस्नेहरुले आफूलाई ढुंगा हान्न लगाएको आरोप लगाउँदै संसद बैठकबारे प्रसंग जोड्दै थिए ।
ओलीले एमसीसीको विषयमा छलफल गर्ने भनिएको बैठक फेरि पनि सारिएको बताइरहँदा एमाले गण्डकी उपसचिव रश्मी आचार्यले सत्तारुढ गठबन्धनबीच भएको नयाँ समझदारीको समाचार देखाए ।
पोडियममा उभिएरै ओलीले समाचार पढेपछि संसद बैठक सारिएकै विषमा थोरै प्रसंग जोडेर गठबन्धनतिर खनिए । ‘अहिले भर्खर समाचार आयो, गठबन्धन पनि नटुट्ने र एमसीसी पनि पास हुने,’ एमाले अध्यक्ष ओलीले भने, ‘गठबनन्धन टुट्नु हुँदैन । टुट्यो भने विचराहरु धुलोपिठो हुन्छन् ।’
ओलीले आफूहरु एकैचोटी ५ दलको गठबन्धनसँग नै चुनाव लड्न चाहेको बताए । ‘एउटा यता छ, अर्को उता छ । लड्न आमन्त्रण गर्दा वान बाइ वान भनिन्छ नि । हामी त्यस्तो गर्दैनौं,’ ओलीले भने, ‘वान बाइ वानवाला होइन, ५ दललाई एकमुण्ट बोलाउँछौं । आउ, पाँचै दल एकैचोटी आऊ ।’
एमाले अध्यक्ष ओलीले वैशाख ३० गते एक झड्कामा गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने पछार्ने दाबी गरे । ‘गठबन्धन पछार्छौं, यिनीहरुलेजस्तो सडकमा ढुंगा हानेर होइन, जनताको पवित्र मत पाएर,’ उनले भनेका छन्, , ‘३ वर्ष सरकार चलाउन पाउँदा सरकार कस्तो हुन्छ भन्ने देखाएका छौं ।’
प्रतिक्रिया