काठमाडौं
१४-फागुन/ जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसिसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले संसदबाट एमसिसी पास गर्ने बेला आफूहरू बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिएका हुन्। एमसिसी सम्झौता संसद्मा रहेको कुल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनुपर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबी गरे।
भट्टराईले भने, ‘मैले प्रष्ट ढंगले भनेको छु। संसदमा पनि र बाहिर पनि मैले भनेको छु। फेरि पनि भन्न चाहन्छु । यो एमसिसी सहमतिबाट पछाडि हट्दाखेरि ठूलो संकट हामीसँग आइपर्दै छ । त्यसलाई राष्ट्रिय सहमति बनाएर जानुपर्छ। यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ । संसदको अहिलेको संख्या २७५ हो। भलै २७१ संख्या छ। यसको आधा १३८ हुन्छ। १३८ भन्दा माथि पुर्याएर नै यसलाई पास गर्नुपर्छ ।
सरकारमा बस्ने तर, बाहिर बाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए। आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्याएर सो सम्झौता पारित गराउन लागि परेको बताए। एमसिसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औँल्याए।
बाबुरामले भने, ‘खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई। कि त तपाईंले यसलाई साथ दिनुस् १३८ पुर्याएर पारित गर्नोस्। होइन भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँहि राष्ट्रवादभित्र चाँहि राष्ट्रघात गर्न पाइँदैन। पहिलो विकल्प, तपाईंले साथ दिनुहोस्। होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ। हामी बहुमत पुर्याएर पारित गर्छौं। हाम्रो स्पष्ट धारणा यो छ।’
एमसिसी सम्झौता आफ्ना लागि नभई राष्ट्रको हितमा भएकाले यसलाई पारित गर्न आफू लागिपरेको उनको भनाइ छ।
प्रतिक्रिया