लुम्बिनी

लुम्बिनी प्रदेशका १८ अस्पतालमा भागबण्डाबाटै अध्यक्ष नियुक्त



रूपन्देही १७ फागुन : लुम्बिनी प्रदेश सरकारले प्रदेशका ११ जिल्ला अस्पताल र ७ आयुर्वेद अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । तर नियुक्तिमा विवाद भएपछि ४ आयुर्वेदिकसहित लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा नियुक्ति प्रक्रिया नै रोकिएको छ ।प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सिफारिसमा राजनीतिक भागबण्डाका आधारमा अध्यक्ष नियुक्त गरिएको हो । राजनीतिक भागबण्डा नमिलेपछि प्रदेशका ठूला दुई अस्पताल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङमा अध्यक्ष नियुक्त हुन सकेका छैनन् । लुम्बिनीमा नेकपा एकीकृत समाजवादी र दाङमा कांग्रेस, माओवादीको दाबी छ ।

सरकारले अस्पताल संचालका लागि पत्रकारदेखि राजनीतिक कार्यकर्तालाई प्राथमिकता दिएको छ । जिल्ला अस्पताल गुल्मीमा पत्रकार महासंघ गुल्मीका पूर्वसचिव एवं पत्रकार भरत पाण्डेलाई नियुक्त गरेको छ ।त्यस्तै रुकुम पूर्वको अस्पतालमा रुकुमकै पत्रकार एवं लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीका प्रेस संयोजक गणेश ओली नियुक्त भएका छन् । अर्घाखाँचीको सन्धिखर्क जिल्ला अस्पतालमा कांग्रेस जिल्ला सचिव कृष्णप्रसाद खनाल नियुक्त भएका छन् । त्यस्तै गुल्मीको आयुर्वेद अस्पतालमा कांग्रेसकै कार्यकर्ता धर्म पाण्डेलाई नियुक्त गरिएको छ ।लुम्बिनी प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङमा तुलसीपुर उपमहानगरपालिका–६ दाङकै विष्णुप्रसाद आचार्य नियुक्त भएका छन् । उनी कांग्रेस निकट हुन् ।

तीन ठूला प्रादेशिक अस्पतालमा ठूला पार्टीले भागबण्डा गर्ने सिफारिस भए पनि अर्का दुई प्रादेशिक अस्पतालको नेतृत्व चयन मन्त्रीपरिषद्‍ बैठकमा पुगेर रोकिएको स्रोतले बतायो ।१८ अस्पतालका अध्यक्ष नियुक्त गर्ने निर्णय शुक्रबार बसेको मन्त्रीपरिषद्‍ बैठकले गरेको थियो । स्रोतका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँको नाम सिफारिस भएको थियो ।

तर, राप्ती प्रादेशिक अस्पतालमा माओवादीले दाबी गरेको र कांग्रेसले सहमति नदिएपछि दुवै अस्पतालको नेतृत्व चयन रोकिएको छ । स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशका २४ अस्पतालमध्ये १८ अस्पतालको अध्यक्ष नियुक्त भएको र बाँकी दुई प्रादेशिक अस्पताल र ४ आयुर्वेद अस्पतालको नेतृत्व चयन हुने प्रक्रियामै रहेको बताए ।बुटवल र दाङका दुई ठूलासहित तुलसीपुर, रूपन्देही, अर्घाखाँची र बाँके आयुर्वेद अस्पतालमा नियुक्त हुन बाँकी छ ।

प्रकाशित : १७ फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६