काठमाडौं २१ फागसन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अमेरिकी सहायता परियोजना (एमसीसी) तोप र गोला भन्दा पनि खतरनाक भएको बताएका छन् ।शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको बताए ।‘पहिला साम्राज्यवादीहरुले अगाडि अगाडि पानी जहाजमा व्यापारको लागि कपडा लिएर जान्थे र पछि पछि तोप लिएर जान्थे । कमजोर मुलुकहरुलाई हस्तक्षेप गरेर आफ्नो शासन लागू गर्थे’ उनले भने, ‘तर अहिले साम्राज्यवाद तोप लिएर जाँदैन । अगाडि सूचना प्रविधि लिएर जान्छ र पछि आणविक हतियार लिएर जान्छ । त्यसकारण यो एमसीसी तोप र गोला भन्दा पनि खतरनाक छ ।’
उनले एमसीसी साम्राज्यावादी हस्तक्षेप हो भन्ने कुरा प्रचण्ड र माधव नेपालले पनि बुझेका बताएका छन् । तर, केही थान मन्त्री, सांसद र आउँदो स्थानीय चुनावको लागि साम्राज्यवादको अगाडि घुँडा टेकेको आरोप लगाए । महासचिव विप्लवले एमसीसी कुनै पनि हालतमा लागू हुन नदिइने र खारेज गरेरै छाड्ने चेतावनी दिए । यस्तै, उनले एमसीसी संसदबाट पास भएको फागुन १५ गतेलाई पुस १ जस्तै ‘कालो दिन’ को संज्ञा दिएका छन् ।‘जसरी पुस १ गते नेपालको इतिहासमा कालो दिनको रुपमा दर्ज भएको छ । त्यो बेला ९विसं २०१७ साल० सामन्तवादले ‘कू’ गरेको घटनालाई हामीले कालो दिन भनेर बुझेका छौं । अहिले फागुन १५ गते त्यो भन्दा पनि कालो दिनको रुपमा दर्ज भएको छ । आफूलाई प्रजातन्त्रवादी भन्नेहरु, अझ कम्युनिष्ट भन्नेहरु, हँसिया हतौडाको बिल्ला भिरेकाहरुले देशलाई घात गरेका छन् ।’ उनले संसदलाई सार्वभौम भनिए पनि जनताको आवाजविरुद्ध गएर अमेरिकीहरुको भत्ता पचाउन कठपुतली भएको बताए ।
२१ फाल्गुन २०७८, शनिबार
प्रतिक्रिया