कपिलवस्तु २२ फागुन : बाणगंगा नगरपालिका वडा नं.२ ले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्टिलको दराज वितरण गरेको छ । वडा कार्यालयको भवन पिपरामा एक कार्यक्रमको आयोजना गरि ११ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई स्टिलको दराज वितरण गरिएको हो । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै नगरका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष विष्णु प्रसाद पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रशंसा गर्नुभयो ।
जनस्तरमा स्वास्थ्य सेवा सुविधाको उपलब्धता तथा स्वास्थ्य क्षेत्रको सुधारमा स्वास्थ्य स्वयंसेविकाहरुले खेलेको भुमिकाको वडाले उच्च मुल्याङ्कन गर्दै आईरहेको वडाध्यक्ष पौडेलले जिकीर गर्नुभयो ।कोभिड संक्रमणको विषम परिस्थितिमा समेत स्वास्थ्य स्वयंसेविकाहरुले जोखिम मोल्दै काम गरेको उहाँले स्मरण गर्नुभयो ।
यस्तै वडाले वडाभित्र रहेका ११ वटा टोल विकास संस्थाहरुलाई डस्टविन प्रदान गरेको छ । वडालाई वातावरणीय प्रदुषणबाट मुक्त गराउदैं वडाको सौन्दरीकरणमा विशेष भूमिका खेल्ने उद्देश्यले डस्टवित वितरण गरिएको वडाध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो ।
यस्तै वडाले वडाभित्र रहेका टोल बाल समूह तथा वडा बाल संजालहरुलाई खेलकुद सामग्री समेत वितरण गरेको छ । बालबालिकाको शारिरीक, मानसिक एवम् सर्वाङ्गिण विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले खेलकुदका सामग्री वितरण गरेको वडा सचिव नरेन्द्र प्रसाद पोखे्रलले जानकारी दिनुभयो । कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, विभिन्न टोल विकास संस्था तथा बालक्लवका पदाधिकारी र पत्रकार अशोक पौडेलको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया