अन्तर्राष्ट्रिय

युक्रेनको बाल अस्पतालमा हवाई आक्रमण : विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी



रुसले युक्रेनको बन्दरगाह सहर मारिओपोलमा रहेको एउटा बाल अस्पतालमा हवाई आक्रमण गरेको छ । आक्रमणबाट अस्पतालमा ठूलो क्षति भएको त्यहाँको नगर परिषद्ले जनाएको छ ।

घटनापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘बालबालिका भग्नावशेषमुनि रहेका र यो बर्बरतामा विश्वले कहिलेसम्म बेवास्ता गरेर सहयोगी बनिरहन्छ ? भन्दै टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ । केही घाइतेहरूलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ ।

त्यसअघि युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिणपूर्वी सहर मारिओपोलमा हस्तक्षेप गर्न र त्यहाँ रहेका झण्डै चार लाख मानिसलाई सहायता दिन आह्वान गर्नुभएको थियो । रुसले यसअघि उच्च प्रभावित सहरका नागरिकलाई ६ वटा मार्गबाट अन्यत्र पठाउन १२ घण्टा लामो युद्धविराममा सहमति गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले अबको प्राथमिकता सीमामा रहेका शरणार्थीलाई सहायता गर्ने हुनुपर्नेमा जोड दिएको छ । रुसले आक्रमण गरेपछि युक्रेन छोडेर बाहिरिएका २० लाख मानिसमध्ये झण्डै आठ लाखजना बालबालिका रहेको सेभ द चिल्ड्रेनले जनाएको छ ।

यसैबीच रुसले युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेको बताएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको बताउनुभयो । तर त्यसका लागि युक्रेनको तर्फबाट पनि पहल हुनुपर्नेमा उहाँको जोड छ । यसअघि भएका तीन चरणका वार्ता निश्कर्षविहिन भएका थिए । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।
 

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६