प्रदेश

दश लाखको कल्याणकारी कोष स्थापना गर्दै प्रेस चौतारी रुपन्देही




बुटवल, १० चैत्र । प्रेस चौतारी नेपाल रुपन्देहीले श्रमजीवि पत्रकारहरुलाई पेशागत दौरानमा आईपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रेस चौतारी रुपन्देहीको विहीबार बसेको प्रथम बैठकले कम्तिमा दश लाख बराबरको कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न संगठनका पूर्व जिल्ला अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरेको छ । समितिको सदस्यमा पूर्व जिल्ला अध्यक्षद्वय भरत केसी र दिनेश पाण्डे रहेका छन् । कल्याणकारी कोषका लागि संगठनका जिल्ला अध्यक्ष सहित कार्यसमितिका सबैले अनिबार्य रकम जम्मा गर्ने निर्णय बैठकले गरेको सचिव केशव भण्डारीले जानकारी दिए । त्यस्तै कल्याणकारी कोषका लागि प्रेस चौतारीका पूर्व सदस्य एवं हाल अमेरीकामा रहेका पत्रकार सुरज भण्डारीले ५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन् । यसैगरी नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले पनि कोषका लागि आवश्यक रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

बैठकले ११ सदस्यीय सचिवालय निर्माण गरेको छ । सचिवालयमा कार्यसमितिका पदाधिकारीसहित चारजना सदस्य थप गरिएको हो । जसमा विकास पराजुली, डि।बी। सुस्लिङ, अस्मिना पाण्डे र टिका खरेल रहेका छन् । त्यस्तै बैठकले कार्यसमिति सदस्यमा दिनेश घिमिरे र सुजिता श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले संगठनको आगामी कार्ययोजना निर्माणका लागि आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मा दिएको छ । प्रेस चौतारी रुपन्देहीले पार्टी निकट पेशागत एवं व्यावसायिक संगठन तथा जिल्ला पार्टी नेतृत्वसँग अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले संगठनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउँदै लैजान र यसका गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुझाव दिए । उनले अहिले सत्ता पक्षले नै प्रतिपक्षीविरुद्ध गठबन्धन गर्ने अवस्थामा आएको र यो एमालेप्रति बढ्दो आकर्षणको प्रभाव रहेको भन्दै अव स्थानीय तहको निर्वाचनमा आवश्यक योजना बनाएर लाग्न आग्रह गरे । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले संगठनमाथि अव महत्वपूर्ण कार्यभार आएको भन्दै बिगतका निर्णयहरुको समेत कार्यान्वयन गर्दै आगामी कार्यकालका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

संगठनका अध्यक्ष लक्ष्मण पौडेलले संगठनलाई अव सुव्यवस्थित ढंगले अगाडि बढाउने र यसका लागि छिटै कार्ययोजना निर्माण गरी अगाडि बढिने बताए । बैठकमा संगठनका उपाध्यक्ष बीपी गौतम, सहसचिव दिपक न्यौपाने, रविन्द्र गुप्ता, कोषाध्यक्ष दिनेश श्रेष्ठ, सदस्यहरु अस्मिना पाण्डे, विष्णु घिमिरे, डिबी सुस्लिंग, टिका खरेललगायतले आ–आफ्नो धारणा एवं सुझाव दिएका थिए ।

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६