प्रदेश

देश विकास गर्न र सुशासनमा एमाले अरू पार्टीभन्दा बढी प्रतिबद्ध छ : ओली



उदयपुर ११ चैत – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गर्नुभएको छ । उदयपुरको सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकमा एमालेले आज शुक्रवार आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।’ 

अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संचरना निर्माणको काम, लोककल्याणकारी कामका लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुई–चार कदम अगाडि रहेको दाबी गर्दै उहाँले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको आरोप लगाउनुभयो ।

आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले गुनासो गर्नुभयो । उहाँले आउँदो चुनावमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताउनुभयो ।

उहाँले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गर्नुभयो । एमालेले आउँदो चुनावबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी काम र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गर्नुभयो । 

एमाले उदयपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुअघि एमाले अध्यक्ष ओलीले उदयपुरको सदरमुकाम गाइघाटमा रहेको बोक्से बासबारीमा निर्माण गरिएको नयाँ मदन भण्डारी आँखा अस्पतालको उद्घाटन गर्नुभएको थियो । आँखा अस्पताल उद्घाटनसँगै आँखाको अप्रेशन गरेका बिरामीसँग अध्यक्ष ओलीले परामर्शका साथै अस्पताल भवनको निरीक्षणसमेत गर्नुभएको थियो । 

प्रकाशित : ११ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६