काठमाडौं
११-चैत/ यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए ।
ट्रायलमा पास भएर नयाँ लाइसेन्स बनाउनेहरुका लागि एक वर्षको परीक्षणकालीन लाइसेन्स जारी भइरहेको जानकारी दिँदै विभागले जेठपछि नवीकरण गर्नेहरुले एक महिनाभित्रै स्मार्ट लाइसेन्स पाउने दावी गरेको छ । उनका अनुसार जेठदेखि नयाँ सवारीको लाइसेन्सको आवेदन पनि खुल्नेछ । जेठसम्म फारम भरिसकेका ५ लाख ७२ हजार सोवग्राहीसँग परीक्षा लिइसक्ने बताउँदै घिमिरेले त्यसपछि फारम भरेको १५ दिनभित्रै परीक्षा दिन पाउने व्यवस्था गरिने बताए ।
जेठपछि अनलाइनबाट नियन्त्रणात्मक व्यवस्था गरेर मात्रै लाइसेन्सको आवेदन भर्न दिइने भन्दै उनले अहिलेको भन्दा प्रभावकारी ढंगबाट सेवा प्रवाह दावी गरे । बागमती बाहेकका अन्य प्रदेशले अंकभारका आधारमा ट्रायल लिने काम सुरु गर्न लागेको भन्दै महानिर्देशक घिमिरेले यो व्यवस्था सबैतिर लागू भएपछि लाइसेन्स वितरण थप सहज हुने बताए ।
प्रतिक्रिया