कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै बेलाको बलियो पार्टी नेपाली कांग्रेस कमजोर भएर अहिले बैशाखीको सहारा खोज्नुपर्ने अवस्थामा आइपुगेको टिप्पणी गरेका छन् ।
सोमवार कपिलवस्तुमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई ‘कुनै जमानाको बलियो साँढे’को संज्ञा दिंदै अहिले ऊ बैशाखी खोजेर हिँड्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरे । गठबन्धनका अन्य दलहरुको कुनै विचार नै नभएको भन्दै उनले उनीहरूलाई बिचराबाहेक केही भन्न आवश्यक नरहेको टिप्पणी गरे । एमालेको शक्तिका बारेमा कांग्रेस सभापति शेरबहादुर देउवाले नै प्रस्ट पारीसकेको बताउँदै ओलीले अब सबै मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दावी गरे । “एमालेको विजय देशको विकासका लागि, समृद्धिका लागि चाहिएको छ, यसलाई एमाले चाहिएको छ, त्यो जनलहरले प्रस्ट छ ।” कार्यक्रममा ओलीले भने,–“एमाले प्रवेश गर्ने सबैको भविष्य सुनिश्चित, किन एमालेमा आएछु भन्नुपर्नेछैन, एमाले कसैलाई अलमलाउने पार्टी होइन, आफ्ना स्वार्थका लागि होइन देश बनाउनका लागि एमाले बलियो बन्दै छ ।” एमाले नेतृत्वको सरकारले विकासमा गरेको जनलहरले अहिले तराई मधेश सहित सबैतिरका जनताले साथ दिएको बताउँदै ओलीले नयाँ उत्साहका साथ एमाले अगाडि बढेको बताए । एमालेका पक्षमा तराइमा देखिएको जनलहरले आगामी सबै निर्वाचनमा एमालेको जित सुनिश्चित गरेको उनको दावी थियो ।
कार्यक्रममा अध्यक्ष ओलीले पूर्व मन्त्री एवं संघीय सांसद बृजेशकुमार गुप्तासहित कपिलवस्तुका पूर्व प्रदेशमन्त्री, मेयर तथा वडाध्यक्षहरुलाई एमाले प्रवेश गराएक थिए ।








प्रतिक्रिया