काठमाडौँ, १७ चैत्र । दीपेन्द्रसिंह ऐरीले ६६ रनको अर्धशतकीय इनिङ्स खेलेपछि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगीनी (पीएनजी)लाई २०४ रनको विजयी लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०३ रन बनाएको छ । नेपालका लागि ऐरीले सर्वाधिक ६६ रन बनाउने क्रममा ३३ बलमा तीन चौका र चार छक्का हान्नुभयो । रोहित पौडेलले ४१ रन बनाउनुभयो । रोहितले २३ बलमा चार चौका र दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
ओपनर आशिफ शेखले ३८ र आदिल अन्सारीले ३१ रन बनाउनुभयो । अलराउन्डर आदिलले यसै खेलबाट सिनियर टोलीमा डेब्यू गर्नुभएको हो । अर्का ओपनर कुशल भुर्तेल १७ रनमा आउट हुनुभयो । बलिङमा पीएनजीका कवुवा मोरेयाले तीन, रिले हेकुरेले दुई तथा नोरमान भानु र नोसईना पोकनाले एक एक विकेट लिनुभयो ।
नेपाल यस खेलमा पीएनजीलाई हराएर एक खेल अगावै फाइनलमा स्थान बनाउने योजनामा छ । पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने दाउमा छ । यसअघि लगातार दुई खेल जितेको नेपाल चार अंक सहित शीर्षस्थानमा छ । आज पीएजीलाई हराएमा नेपाल ६ अंक जोड्दै फाइनलमा पुग्नेछ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो । दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
लगातार दुई खेल हारेको पीएनजीले खाता खोल्न सकेको छैन । मलेसिया दुई अंक सहित दोस्रो स्थानमा छ । तीन टोली सहभागी यस सिरिजमा हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले लिग चरणको अन्तिम खेल शनिबार मलेसियासँग खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।
प्रतिक्रिया