डिलाराम भुसाल
कपिलवस्तु २० कातिक
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.५ स्थित इलाका प्रहरी कार्यालय कोपवामा नवनिर्मित दुई कोठे प्रहरी ब्यारेक भवनको आज शुक्रबार उद्घाटन भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टको प्रमुख आतिथ्यता तथा बाणगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भट्टले नवनिर्मित ब्यारेक भवनको उद्घाटन गरेको बताएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक भट्टले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताउदै प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारसँगै समुदायको सहयोग र सहकार्य पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरेका छने । भवन निर्माणमा सहयोग पु¥याउने बाणगंगा नगरपालिका,स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सम्पूर्ण समुदायप्रति उहाँले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि प्रहरी र नागरिकबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका छन्।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुनिका प्रसाद भुसालले प्रहरी नागरिकको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने महत्वपूर्ण निकाय भएकाले प्रहरीलाई आवश्यक पूर्वाधार तथा सहयोग उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले स्थानीय समुदायको सहयोग र सहकार्यबाट निर्माण सम्पन्न भएको यस भवनले प्रहरी कर्मचारीलाई सहज रूपमा कार्यसम्पादन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै, बाणगंगा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डनले प्रहरी र स्थानीय समुदायबीचको सहकार्यले समाजमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउदै प्रहरीलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण तथा व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भवन निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन्।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले स्वागत गदै प्रहरी कर्मचारीको बसोबास तथा कार्यसम्पादनलाई सहज बनाउन ब्यारेक भवनले सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष डिलाराम भुसाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बाणगंगा नगरपालिकाको आर्थिक सहयोग र स्थानीय समुदायको सहकार्यमा निर्माण सम्पन्न भएको उक्त दुई कोठे ब्यारेक भवनले प्रहरी कर्मचारीको आवास व्यवस्थापनमा सहयोग पुग्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया