अन्तर्राष्ट्रिय

श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरको राजीनामा




एजेन्सी, २१ चैत्र ।
श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि आज सोमवार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले देशको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको एएफपीले जनाएको छ ।

उहाँले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।

देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिँदै गएपछि जिम्मेवार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् । जिम्मेवार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछि राष्ट्रपति गोटाबाय राजापाक्षे र प्रधानमन्त्री महेन्दा राजापाक्षे थप सङ्कटमा पर्नुभएको छ ।

आर्थिक सङ्कटका कारण मर्कामा परेपछि असन्तुष्ट नागरिकले सरकारका विरुद्धमा प्रदर्शन गर्न थालेपछि राजनीतिक सङ्कट सुरु भएको हो । आन्दोलनकारीले राष्ट्रपति राजापाक्षेको निवास घेर्न थालेपछि सरकारले गएको शनिवार बेलुका ६ बजेदेखि ३६ घण्टे कफ्‌र्यु आदेश जारी गरेको छ ।

आर्थिक सङ्कटसँगै राष्ट्रपति र उच्च सरकारी अधिकारीहरूविरुद्ध सर्वसाधारणले आक्रोश व्यक्त गर्दै आन्दोलित भएपछि सरकारले श्रीलङ्कामा देशव्यापी सुरक्षाका लागि भन्दै सङ्कटकालको घोषणा गरेको छ ।

चरम आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा हिंसात्मक गतिविधिहरू बढ्न थालेकले सङ्कटकालको घोषणा गर्नुपरेको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवन रक्षाका लागि आवश्यक आपूर्ति र सेवाहरूको मर्मतका लागि भन्दै आपत्कालीन अवस्थाको घोषणा गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा प्रदर्शन गर्नेहरूलाई नियन्त्रणमा लिएर हिरासतमा राख्न पनि सरकारले आदेश जारी गरेको छ ।

आर्थिक मन्दीसँगै अत्यधिक मूल्यवृद्धि र विद्युत् आपूर्तिसमेत बन्द हुँदा सर्वसाधारण थप मारमा परेकाले उनीहरू आन्दोलित भएका हुन् ।

सन् १९४८ मा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको श्रीलङ्का पछिल्लो समय चरम आर्थिक सङ्कटका कारण अत्यावश्यक वस्तुको समेत आपूर्ति गर्न नसक्दा आम सर्वसाधारण मर्कामा परेका छन् ।

प्रकाशित : २१ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६