दाङ ७ बैशाख ।नेपाली कांग्रेस घोराही नगर समितिले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ । नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो ।गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादीका उम्मेदवारले टिकट पाउने सम्भावना बढेपछि कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिकट नदिन नेतृत्वलाई आग्रह गरेको हो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र दाङ क्षेत्र नं. २ अन्तर्गतका दुई पालिकाहरु मध्ये घोराही उपमहानगरपालिकाको प्रमुख कांग्रेसलाई दिनुपर्ने कांग्रेस घोराही उपमहानगरपालिका नगर सभापति तिलक रावतले बताए । उनले गठबन्धनका नाममा दुई नम्बर क्षेत्रका स्थानीय तहहरुमा कांग्रेसलाई सून्य बनाउन नसकिने भन्दै नेतृत्वलाई उचित निर्णय लिन आग्रह गरे ।उनले गत स्थानीय तह निर्वाचनमा घोराहीको नगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरु जीवन शर्मा र सिता चौधरीले माओवादी छोडिसकेकाले स्वभाविक रुपमा माओवादीले समेत कांग्रेसलाई सहयोग गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य जानका केसी, नेपाली कांग्रेसका जिल्ला सदस्यहरु बद्री खड्का, खेमराज विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव रमेश पाण्डेयलगायतका नेपाली कांग्रेस घोराही नगर समिति, वडा सभापतिलगायतका नेताहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया