कृषि

सत्ता गठबन्धनको चुनावी तालमेल भद्रगोल भएपछि एमालेमा थपियो उत्साह




काठमाडौ १४ बैशाख । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको चुनावी तालमेल भद्रगोल भएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उत्साहित हुन पुगेको छ । सुरुमा सत्ता गठबन्धनले ‘कसिलो’ तालमेलको गृहकार्य गरे पनि चुनावी मिति नजिकिदै जाँदा आपसमा हानथापले विभिन्न पालिकामा तालमेल नै छिन्नभिन्न भएको देखिन्छ । सत्तारुढ गठबन्धनभित्र बढेको भद्रगोलले चुनावी नतिजा आफ्नो पोल्टामा पर्ने एमाले नेता कार्यकर्ताको बुझाइ छ ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले उत्साहका साथ चुनावी अभियानमा होमिएको भन्दै सत्ता गठबन्धनलाई एमालेले गणना नै नगरेको प्रतिक्रिया दिए । ‘एमालेले गठबन्धनलाई गणना नै गरेको छैन । गणना गर्नुपर्ने आवश्यकता पनि छैन’, पौडेलले भने, ‘एमाले बलियो छ, हामी एक्लै प्रतिस्पर्धा गर्न सक्दैनौं, त्यही भएर गठबन्धन बनाउनुपर्‍यो भनेर सत्तारुढ दलकै नेताहरुले बारम्बार बताइरहेको अवस्थामा उहाँहरुले नै एमालेको श्रेष्ठता देखाइरहनु भएको छ ।’पौडेलले देशभर उत्साहका साथ एमाले नेता कार्यकर्ता चुनावी अभियानमा होमिएको पनि बताए । ‘चुनावका लागि हाम्रा नेता कार्यकर्ता देशभर उत्साहका साथ चुनावी अभियानमा लाग्नुभएको छ’, उनले भने, ‘वैशाख ३० को निर्वाचनपछि एमाले सवैभन्दा ठुलो र सशक्त पार्टी भएर स्थानीय सरकारहरु बनाउँछ ।’
उनले एमाले नेतृत्वको सरकारले गरेका कामहरु लिएर नेताहरु जनतामा जाँदा एमालेप्रतिको जनआकर्षण बढेको समेत दावी गरे । ‘हिजो गरेका राम्रो कामको विवरण लिएर व्यवस्थित ढंगले जनतामाझ एमाले गइरहेको छ । नेकपा एमाले जनताको पार्टी हो र जनताको काम गर्छ भन्ने भइसकेको पनि छ । त्यसैले हामी निराश हुनुपर्ने अवस्था छैन’, पौडेलको भनाइ छ । पाँच दलीय सत्ता गठबन्धनले जिल्ला, प्रदेश र केन्द्रमा तीन तहको संयन्त्र गठन गरेर पार्टी शक्तिका आधारमा तालमेल गर्दै साझा उम्मेदवार तय गर्ने बताएका थिए । तर, अपेक्षा गरिएभन्दा निकै कम स्थानीय तहमा मात्र साझा उम्मेदवार तय गरिएको छ ।
केन्द्रबाटै उम्मेदवार तय गरेका ६ महानगर र ११ उपमहानगरमा पनि बागी र विद्रोही उम्मेदवार प्रशस्तै खडा भएका छन् । केन्द्रको निर्देशनसमेत नमानेर पोखरा, विराटनगर, वीरगञ्ज महानगर र हेटौंडा, नेपालगञ्ज लगायतका उपमहानगरमा सत्ता गठबन्धनबाटै बागी उम्मेदवारी परेका छन् । यद्यपि बागी र विद्रोहीलाई उम्मेदवारी फिर्ता गर्न लगाउन सत्तारुढ दलले निर्देशन दिइरहेका छन् । निर्देशन नमान्नेलाई गठबन्धनबाट कारवाहीसमेत हुन थालिसकेको छ । गठबन्धनबीच तालमेल भएका भनिएका पालिकामा पनि कतै ५ दल, कतै ४ दल त कतै दुई दलबीच मात्रै तालमेल भएका छन् । यतिमात्र होइन, केही पालिकामा गठबन्धन घटकले एमालेसँग पनि तालमेल गरेको पाइएको छ । स्थानीय तहमा एमालेसँग गरेको तालमेल तोड्न केन्द्रले निर्देशन दिए पनि सम्बन्धित दलका स्थानीय कमिटीले केन्द्रको निर्णयलाई नै चुनौती दिँदै आएका छन् ।

प्रकाशित : १४ बैशाख २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६