कृषि

बाग्लुङमा पानी मग्दै पुजा



बाग्लुङ – सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीवार ‘टापु’ पुगे । पानी परोस् भनेर प्रकृति र देउता पुजे ।

दुई हजार ३४० मिटर उचाइमा टापु पर्छ । त्यसलाई जङ्गलले घेरेको छ । बीचमा एउटा अजङ्ग परेको ठिन्केको रुख छ । त्यसको वरिपरि नौ वटा थान छन् । यसमा भीमसेन, इन्द्र देउतासहित प्रकृतिको पूजा हुन्छ । लामो खडेरी पर्यो र अन्नपात खेतबारीमै सुक्ने स्थिति आयाे भने गाउँलेले टापुको पूजालाई महत्त्व दिन्छन् । अहिलेको बेला ठ्याक्कै त्यस्तै छ । खडेरी लम्बिएपछि प्रकृतिसँग पानी माग्न पूजा गरिएको स्थानीयवासी बताउँछन् ।

वडा सदस्य लोकबहादुर थापाले बाउबाजेका पालादेखि नै ‘टापु पूजा’को चलन बसेको बताउनुभयो । ‘बर्सेनिजसो यो पूजा चल्छ, खडेरी पर्दाको वर्ष त झन् महत्त्व दिएर गर्ने चलन’, उहाँले भन्नुभयो ।

मङ्गलवार तीन जना पण्डितले टापुको पूजा उम्काए । तल नेटामा रहेको शिवको मन्दिरमा दुई जनाले पाठ गरेको र एक जनाले टापुमा पूजा चलाएको सदस्य थापाले जानकारी दिनुभयो । ‘टापुमा पूजा गरेपछि आकाशबाट पानी पर्छ भन्ने मान्यता छ, गाउँको पराम्पराजस्तो रहिआएकाले पूजाको चलन अझै छ’, उहाँले भन्नुभयो ।

कतिपयले भने यस्तो मान्यतालाई अन्धविश्वासका रूपमा अर्थ्याउँछन् । पानी पर्ने–नपर्नेमा वैज्ञानिक कारण हुने भएकाले पूजा गर्दैमा प्रकृतिले पानी नदिने उनीहरुको तर्क छ । स्थानीयवासी मीना दर्जीले आफू सानै हुँदादेखि नै टापुको पूजाबारे थाहा पाएको बताउनुभयो ।

‘कोरोनाले गर्दा दुई वर्षजति यो पूजा भएन, नत्र निरन्तर नै हुने गरेको छ’, उहाँले भन्नुभयो । पौराणिककालमा टापु नजिकैको पाण्डवखानी भन्ने ठाउँमा पाँच पाण्डव बसेको किंवदन्ती छ ।त्यही कारण पाँच पाण्डवमध्येका एक भाइ भीमसेनको थान बनाएर टापुमा पूजा गर्ने चलन बसालिएको हो । थानमा कुनै काटमार नगरि रोटी, फूलप्रसादीले मात्र पूज्ने चलन छ । पूजाको खर्च पनि स्थानीयवासी आफैँले बेहोर्छन् ।

प्रकाशित : १५ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६