अर्थ-वाणिज्य

उत्पादन बढाउने, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ? अर्थमन्त्री शर्मा



काठमाण्डौ, १६ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आउँदो आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताउनुभएको छ ।

आज सोमवार बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलब वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धि छ भनेर भन्न नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले चार वर्षअघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनी प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो बजेटमा कतै पनि चुनावको कुरा छैन । हिजो दिइरहेको कुरा निरन्तर गरिएको हो । अलिकति तलमाथि गरेको बाहेक के चुनावी गरिएको छ र ? उत्पादन वृद्धि गर्ने कुरा चुनावी कुरा हो र ? आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा चुनावी कुरा हो र ? कर्मचारीको तलब बढाउने कुरा पनि ऐनमै व्यवस्था गरिएको छ । युवाहरूलाई तालिम दिनुपर्छ भन्ने कुरा चुनावको कुरा हुँदैन । किसानलाई पेन्सन दिने कुरा पनि चुनावी कुरा होइन ।’

अर्थमन्त्री शर्माले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको पनि बताउनुभयो । उहाँले आउँदो आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्ने, गरिबीको अन्त्य गर्ने, स्रोत–साधनको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको पनि बताउनुभयो । उहाँले अर्थ मन्त्रालयमा प्रयोग गरिएको स्यानिटाइजर समेत विदेशी भएको पाइएपछि आफूहरूले स्वदेशी वस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको उल्लेख गर्नुभयो ।

अर्थमन्त्री शर्माले सरकारले ल्याएको बजेट पूर्णरूफमा कार्यान्वयन हुने दाबीसमेत गर्नुभयो । उहाँले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरू छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो पूर्ण छ । उत्कृष्ट छ रु होइन । राम्रो गरौँ भनेर कोसिस गरिएको छ । कुनै क्षेत्र छुटेको होला । ध्यान नपुग्दो रहेछ । हामीलाई के विश्वास छ भने यसलाई कार्यान्वयन पनि गर्न सक्छौँ ।’

अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सिर्जना गर्ने कामलाई प्राथमिकता दिएको पनि स्मरण गराउनुभयो ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६