बुटवल २१ जेठ । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण पूरा हुने अवस्थामा पुगेको छ । आयोजनाका अनुसार साढे १५ किलोमिटर लम्बाइको ओभरहेड तार बिछ्याउने काम सकिएको छ भने योगीकुटीबाट तिनाउसम्म दुई किलोमिटरको भूमिगत लाइन तान्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।
भूमिगत लाइनका लागि केवल बिछ्याउने काम सम्पन्न भैसकेको छ भने अब नाङ्गो तारसँग केवल जोड्ने काम मात्र बाँकी रहेको र १० दिनमा उक्त काम पनि सकिने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले बताए । आयोजनासँगै नेपाल–भारतबीच विद्युत् व्यापारका लागि संरचना पनि तयार हुनेछन् । त्यसपछि नेपालले भारतलाई विद्युत् बिक्री गर्नेछ ।
आयोजनाअन्तर्गत भैरहवा नजिकै मैनहिया भन्ने स्थानमा सबस्टेसन निर्माण गरिएको छ । बुटवलमा रहेको राष्ट्रिय प्रसारण लाइन ग्रिडसँग जोडेर २०० मेगावाट क्षमताको लाइन सबस्टेसनमा ल्याइएको छ । अब आयोजना निर्माणको काम सकिने बित्तिकै लाइन चार्जको काम हुने र असारभित्रै आयोजना उद्घाटन हुने पाण्डेको भनाई छ । आर्थिक वर्ष २०७३÷०७४ ठेक्का सम्झौता भएको १३२ केभी प्रसारण आयोजनाले तीनवटा मुख्य काम चरणबद्ध रूपमा अगाडि बढाएको थियो । जसअनुसार आयोजनाले तीन वर्ष लगाएर रुपन्देहीको मैनहियामा कम्पाउण्ड वालसहितको भवन निर्माण गरेको थियो ।
२१ जेष्ठ २०७९, शनिबार
प्रतिक्रिया