प्रदेश

नेपालमा हालसम्म ७ सय ६० जनामा मात्रै हिमोफिलिया पहिचान चिकित्सक र स्वास्थ्यकर्मी नै अलमलमा




बुटवल, २२ जेठ ।
विश्व स्वास्थ्य संगठन डब्लु.एच.ओ. का अनुसार प्रत्येक दश हजार जन्ममा एक जना हिमोफिलियायुक्त व्यक्तिको जन्म हुन्छ । त्यस अनुसार नेपालमा सरदर तीन हजार जना हिमोफिलियायुक्त व्यक्ति हुनुपर्ने हो, तर नेपालमा हालसम्म ७६० जनाको मात्रै पहिचान भएको छ ।
मानिसको शरीरमा रगत जमाउन आवश्यक पर्ने तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भईरहने समस्या हिमोफिलिया हो । शरीरमा हुने रगतमा विशेष प्रकारका १३ वटा प्रोटिन फ्याक्टरहरु हुन्छन्, त्यसमध्ये कुनैपनि एउटा फ्याक्टरको कमिका कारण हिमोफिलिया हुन्छ । ‘प्रति दश हजार जन्ममा एक जना हिमोफिलियायुक्त व्यक्तिको जन्म हुने विश्व स्वास्थ्य संगठनको मान्यता छ ।’ हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष मुकुन्दमणी घिमिरेले भन्नुभयो–‘जनसंख्याको आधारलाई मान्दा नेपालमा ३ हजार जनामा हिमोफिलिया हुनुपर्ने हो, तर ७६० जना मात्रै हाम्रो सम्पर्कमा आएका छन् ।’
त्यसबाहेक बाँकी सामान्य प्रकारका पनि हुन सक्ने र जटिल भएर पनि रोग लुकाएर बसेको हुन पनि सक्ने उहाँको भनाई छ । उहाँका अनुसार फ्याक्टर औषधीको अभावमा प्रत्येक वर्ष ३÷४ जनाले ज्यान गुमाईरहेका छन् । विरामीको समयमा पहिचान नहुनु र पहिचान भएपनि दीर्घकालिन उपचार तथा प्रयाप्त औषधिको अभावमा यो जटिल समस्याको रुपमा खडा भएको छ ।
नेपाल सरकार महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा हिमोफिलिया सोसाइटी नेपालले शनिबार बुटवलमा जनप्रतिनीधि तथा सरोकारवालासंग अन्तरक्रिया छलफल कार्यक्रम गरेको थियो । सो अन्तरक्रिया छलफलमा अधिकांशले हिमोफिलिया प्रति अनविज्ञता प्रकट गरे । हिमोफिलियाका बिरामीहरुको उपचारमा सहयोग गरेका मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले सर्वसाधारण र नपरेकालाई यस विषयमा जानकारी नहुनु सामान्य भएको बताउँदै यस क्षेत्रका अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि हिमोफिलियाको बारेमा राम्रोसँग जानकारी नभएको बताउनु भयो ।
हिमोफिलिया सोसाइटी नेपाल र बुटवलको आभाष मेडिकल हलको सहकार्यमा अस्पताललाईनमा रहेको आभाष मेडिकल हलमा फ्याक्टर औषधी खोप केन्द्र सञ्चालन गरिएको छ । यहाँबाट पश्चिम नेपालसम्मका विरामीले सेवा लिईरहेको आभाषका सञ्चालक समेत रहेका मेलान रुपन्देहीका अध्यक्ष पौडेलले बताउनु भयो । तर विरामीको पहिचान नहुँदा त्यस्ता धेरै विरामीले उपचार नपाएको उहाँको भनाई छ ।
रगतको विशेष प्रकारको परीक्षणबाट हिमोफिलियाको पहिचान गरिन्छ । तर यसको पहिचान काठमाण्डौमा मात्रै सिमित छ । हालसम्म केन्द्रीय प्रयोगशाखा टेकु, निजामति अस्पताल मिनभवन र टिचिङ अस्पताल महाराजगंजमा ल्याव परीक्षण हुने उपाध्यक्ष घिमिरेले बताउनु भयो । पछिल्लो समय नोभिनोर्डिक्स हिमोफिलिया फाउण्डेशन स्वीजरल्याण्डको सहयोगमा सात वटै प्रदेशका अस्पतालमा हिमोफिलियाको पहिचान गर्न सकिने मेसिन जडानको लागि नेपाल सरकार र हिमोफिलिया सोसाइटी बिच सम्झौता भएको र प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले जानकारी गराउनु भयो । जस अनुसार लुम्बिनी प्रदेशको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई छनौट गरिएको छ ।
हिमोफिलिया सोसाइटी लुम्बिनीका अध्यक्ष विशाल वेलबासेका अनुसार लुम्बिनी प्रदेशमा ८० जनाको पहिचान भएको छ । त्यसमध्ये १ जना महिला हुन् । नेपालभरको तथ्यांकमा महिलाको संख्या ९ छ । लुम्बिनी प्रदेशका ८० जना बिरामी मध्ये ५० जनाजतीको अवस्था जटिल रहेको लुम्बिनी प्रदेश संयोजक नेत्र पौडेलले बताउनु भयो ।
कार्यक्रममा महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अपांगता प्रवद्र्धन महाशाखाका शाखा अधिकृत नरबहादुर चन्दले चालु आर्थिक वर्षमा ६ लाख रुपैंया बजेट विनियोजन भएको र आगामी आर्थिक वर्षको लागि यसको लागि बजेट बढाउन पहल गर्ने बताउनु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले यो रोगका विषयमा आफूहरु अनविज्ञ रहेको र अवका दिनमा वडा र नगरपालिकाबाट के गर्न सकिन्छ त्यसमा आफू तयार रहेको भन्दै प्रतिवद्धता व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका शाखा अधिकृत सुरेन्द्र भण्डारी र वाल तथा महिला अस्पताल आम्दा बुटवलका प्रशासकीय प्रमुख ध्रुव श्रेष्ठले यसको व्यवस्थापनको लागि आफूहरुको तर्फबाट के गर्न सकिन्छ तयार रहेको भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका ज्योती भण्डारी, जसपाका कमल खनाल, अपांग महासंघकी सावित्रा घिमिरे, बुटवल नगर कार्यपालिका सदस्य सुनिता खड्लुक लगायतले जटिल रोगको उपचारमा आफूहरुको तर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित : २२ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६