प्रदेश

प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल पूरा




काठमाण्डौ, ०१ असोज । प्रतिनिधि सभाको पाँचवर्षे कार्यकाल आजदेखि सकिँदैछ । २०७२ मा संविधान जारी भएपछि २०७४ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजेदेखि सकिन लागेको हो । सरकारले प्रतिनिधि सभाको ११औँ अधिवेशन अन्त्य गर्न हिजो राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ । आज राति १२ बजेदेखि बर्खे अधिवेशनको अन्त्यसँगै प्रतिनिधि सभा निष्क्रिय हुनेछ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि भोलि र पर्सि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका रहेकाले आजदेखि संसद्को कार्यकाल पूरा हुन लागेको हो । विगतको अभ्यास र अनुभवका आधारमा प्रतिनिधि सभाको कार्यकाल आजसम्म कायम रहनेबारे निर्वाचन आयोगले संसद् सचिवालयलाई राय दिएको छ । तर संसद् सचिवालयले औपचारिक रुपमा यसबारे केही भनेको छैन । प्रमुख प्रतिपक्षी एमालेले भने हिजो नै आफ्ना सांसदहरूको बिदाइ गर्दै चुनावमा खटिन निर्देशन दिएको छ ।

२०७४ सालको मंसिर १० र २१ गते चुनाव भएपछि फागुन २१ गतेदेखि सुरु भएको प्रतिनिधि सभाको यो कार्यकालमा ७५ विधेयक पारित भएको छ भने यसबीचमा ४९ वटा अध्यादेश ल्याइएको छ । २७ विधेयक भने निस्क्रिय भएका छन् । प्रतिनिधि सभाको यो कार्यकालमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको छ भने लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको चुच्चे नक्सा सर्वसम्मत पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिएको छ ।

यो कार्यकालमा प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग लगाए पनि प्रक्रियामै लैजान साढे पाँच महिना लगाउँदा टुङ्गोमा पुग्न सकेको छैन । महाअभियोग अब के हुन्छ भन्ने कानुनी अन्योल बाँकी नै छ । यस्तै दोस्रोपटक प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पुगेको नागरिकता विधेयक के हुन्छ भन्ने अर्को अन्योल पनि छ ।

संसद्का दुवै सदनबाट पास गरेर प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालयमा विधेयक पुगेको आज ११ दिन भएको छ । राष्ट्रपतिले विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आज राति १२ बजेपछि प्रतिनिधि सभाको कार्यकाल सकिने र आजसम्म विधेयक प्रमाणीकरण भएन भने नागरिकता विधेयक निष्क्रिय हुने कतिपय कानुनविद्हरुको तर्क छ ।

प्रकाशित : १ आश्विन २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६