बर्दिया १ असोज । बर्दियामा लगातार तीन दिनदेखि परेको वर्षाले सात सयभन्दा बढी घर डुबानबाट प्रभावित भएका छन् । डुबानले सबैभन्दा बढी राजापुर र ठाकुरबाबा नगरपालिकाका केही वडा प्रभावित भएका छन् ।राजापुर नगरपालिकाको १ देखि ८ वडाका ६ सय ५९ घर परिवार डुबानबाट प्रभावित भएका छन् । डुबानबाट विस्थापितलाई विद्यालय, सामुदायिक वनको भवन लगायत सुरक्षित स्थलमा आश्रय दिइएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद बास्तोलाले बताए ।उनले अविरल वर्षा र बाढीको पानीले डुबानमा परेका सबैलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगायत स्थानीयको सहयोगमा विभिन्न सुरक्षित स्थलमा सारिएको बताए। राजापुरमा पछिल्लो २४ घण्टामा २ सय २७ मिलि लिटर वर्षा भएको स्थानीय प्रशासनले जनाएको छ । २४ घण्टामा १ सय ४० मिमी वर्षा भएमा जोखिम मानिन्छ ।
हाल बबई, कर्णाली र साना, ठूला खोलामा पानीको बहाव उच्च भएको छ ।ठाकुरबाबा नगरपालिका—७ र ५ मा डुबानका कारण ३५ घर परिवारलाई अन्यत्र स्थान्तरण गरिएको छ । यस क्षेत्रमा दुई साता अघि आएको वर्षाले तीन दर्जनभन्दा बढी घर अन्यत्र स्थान्तरण गरिएको थियो ।ठाकुरबाबा गरपालिकाको राजकुना र कर्मना गाउँ पनि डुबानले प्रभावित भएका छन्। यसैबीच बबई नदीमा जलस्तर घटदै गएको छ भने कर्णालीमा चेतावनीको संकेत तहभन्दा माथि पानी बगिरहेको छ । बबईमा ६ दशमलव ४ मिटरमाथि पानी बगिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया