प्रदेश

विद्यार्थीले गरे नमुना संसद्को अभ्यास



बुटवल १८ मङ्सिर । नवनिर्वाचित सांसदहरू शपथ लिएर संसद् भवन प्रवेश गर्ने तयारी हुँदै गर्दा बुटवलमा विद्यार्थीले नमुना संसद् चलाएका छन्। बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका कानुन सङ्कायका विद्यार्थीले नमुना संसद् अभ्यास गर्दै बैठक चलाएका हुन्।
सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्यदेखि मर्यादापालकसम्म सबै भूमिकासहित विद्यार्थीले नमुना संसद् बैठक चलाएका हुन्। उनीहरूको संसदीय अभ्यासले लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालनकै झल्को दिएको थियो। कालिका मानव ज्ञान माविको समन्वय तथा लुम्बिनी प्रदेश सभा सचिवालयको आयोजनामा भएको नमुना संसद् कार्यक्रममा रुपन्देही जिल्लामा कानुन पढाइ हुने विभिन्न छवटा स्कुल तथा क्याम्पसका ४६ जना विद्यार्थीले सांसदको भूमिका निर्वाह गरेका थिए।
पहिलो दिनको बैठकलाई हिउँदे अधिवेशन र दोस्रो दिनको बैठकलाई बजेट अधिवेशन नाम दिएर नमुना सासंद सञ्चालन गरिएको थियो।
कालिका मानव ज्ञान माविमा कक्षा १२ कानुन समूहमा अध्ययनरत विद्यार्थी आशिष पाण्डे सभामुख बन्नुभएको थियो। राष्ट्रिय पोसाक दौरा सुरुवालमा ठाँटिएका सभामुख पाण्डेले बैठक सञ्चालन निकै जिम्मेवारीबोधका साथ गर्नुभएको थियो।
दुई दिन चलेको बैठकमा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रमुख सचेतक, प्रदेश सभा सचिवको रूपमा छुट्टाछुट्टै विद्यार्थीहरूले अभ्यास गरेका थिए। प्रत्येक भूमिकामा विद्यार्थीहरू परिपक्व सांसदजस्तै प्रस्तुत भएको लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो।
प्रदेश सभामा उनीहरूले संसद्मा विधेयक प्रस्तुत गर्ने, त्यसमाथि छलफल गर्ने र पारित गर्ने तरिकाको अभ्यास गरेका थिए। सत्तापक्ष र प्रतिपक्ष सांसदको भूमिकाको पनि अभ्यास गरेको कालिका मानव ज्ञान माविका कानुन सङ्कायका प्रमुख युवराज कँडेलले बताउनुभयो।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६