बुटवल १ माघ ।नेपाल पत्रकार महासंघले पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र शोकमग्न भएको जनाएको छ।आइतवार बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको थियोे।पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
२०७४ सालमा महासंघको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एकपटक उपाध्यक्ष र दुईपटक सचिवका रूपमा रही योगदान दिएको महासंघको बिज्ञप्तीमा उल्लेख छ।पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गर्नुभएका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गरेका थिए। विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आउनुभएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशकरसम्पादकका रूपमा कार्यरत थिए। स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन्।
महासंघका महासचिव रोशन पुरीले जारी गरेको बिज्ञप्तीमा पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको भन्दै महासंघले कुशल पत्रकार नेता गुमाएको र कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ।नेपाल पत्रकार महासंघ स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ। साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछू बिज्ञप्तीमा उल्लेख छ।
महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको महासचिव पुरीले बताए।पुरीका अनुसार माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने एवं भोलिदेखि नै १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ।
१ माघ २०७९, आइतबार
प्रतिक्रिया