अर्थ-वाणिज्य

भूमिहिनलाई जग्गा दिन औपचारीक नाप जाँच शुरु




दाङ १२ माघ । दाङको राप्ती गाउँपालिकामा जग्गाको नाप नक्सा गर्ने कार्यको औपचारिक रुपमा सुरूवात गरिएको छ।गाउँपालिका क्षेत्र भित्र रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई व्यवस्थित गरि लालपूर्जा वितरण गर्ने उदेश्यले बिहीबार देखि पलिकाको वडा नम्बर २ मुक्तिनगर बाट जग्गाको नाप नक्सा गर्ने कामको औपचारिक रुपमा उद्घाटन गरिएको हो।राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिपिएस प्वाइन्ट राखिएको ठाउँबाट जग्गा नाप जाँच गर्ने टोटल स्टेसन मेसिन सञ्चालन गरि कार्यक्रमको शुरुआत गरेका हुन् ।
सो अवसरमा बोल्दै आयोगका जिल्ला अध्यक्ष रेग्मीले गैर सुकुम्बासीलाई जग्गा नदिइने बताउँदै वास्तविक सुकुम्बासीलाई जग्गाको मालिक बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘कार्यविधि अनुसार नै सबै काम अगाडि बढाउछौं’, उनले भने, ‘कार्यविधि विपरित कार्य गर्नेलाई दण्डित पनि गर्छौ । जसको अधिकार क्षेत्र भित्र जग्गा छ, त्यसैले पाउँछ ।कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले यस क्षेत्र राजधानी क्षेत्र भएकाले पनि व्यवस्थित बस्तीको रुपमा विकास गर्न सबैले ध्यान दिनु पर्ने कुरामा जोड दिए ।
त्यस्तै उनले काम गर्ने क्रममा कुनै विवाद भए वडा र पालिकामा गठित विवाद सहजीकरण समितिले समाधान गर्नु पर्ने कुरा औल्याउदै फिल्ड बाट सामान बोकेर फिर्ता हुने अबस्था सिर्जना हुन नदिन सबै पक्षलाई आग्रह गरे।त्यस्तै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जग्गा नापजाँच कार्य पछि वर्षै देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाको मालिक बनाउने कार्यको शुरुआत हुदा निकै खुशी लागेको छ’, उनले भने, ‘तीन पुस्तासम्म भोग चलन गरेको जग्गाको स्वामित्व पाउन नसकेका परिवार अब जग्गाको मालिक बन्ने भएका छन् । यस कार्यमा सबैको साथ र सहयोगको आवश्यकता हुनुपर्ने बताए ।निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै उनले जग्गा नापजाँच गरि वास्तविक सुकुम्बासीहरुलाई मात्र लालपुर्जा वितरण गर्नु पर्ने बताए । त्यस्तै डिभिजन वन कार्यलय देउखुरीका वन अधिकृत राजु क्षेत्रीले वन सँग कुनै कुरा नबाझिने गरि काम गर्न सुझाव दिए ।
हाल राप्ती गाउँपालिका भरि ५ सय ६७ जना भूमिहिन तथा सुकुमबासीहरू रहेका छन् । जसमध्ये ३ हजार ७ सय ५८ अब्यबस्थित बसोबासी, ५ सय ६७ जना भूमिहिन सुकुमबासी, २ सय २० जना भूमिहिन दलित गरी कुल ४ हजार ५ सय ४५ जना अव्यवस्थित बसोबासी, भूमिहिन र सुकुमबासी रहेको राप्ती गाउँपालिका भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र प्रमुख बालचन्द्र गुरूङ्गले जानकारी दिएका छन् ।जस अनुसार ४ हजार ५ सय ४५ जनाको लगत राष्ट्रिय भूमि आयोगको सफ्टवेयरमा इन्ट्री भइसकेको सेवा केन्द्र प्रमुख गुरूङ्गले जानकारी दिए । जस मध्ये राप्ती गाउँपालिकाको वार्ड नम्बर १ देखि ४ सम्मका ३ हजार घरपरिवारलाई निस्सा बितरण गरि सकिएको र बाँकी वार्ड नम्बर ५ देखि ९ सम्मका १ हजार ६ सय घरपरिवारलाई निस्सा बितरण गर्न बाँकी रहेको सेवा केन्द्र प्रमुख गुरूङ्गले बताए ।
पालिकामा जग्गा सम्बन्धी काम गर्नका लागि आयोगको जिल्ला कार्यालयबाट एक जना सर्भेक्षकलाई खटाइएको छ भने पालिकाले पनि आवश्यक थप सर्भेक्षक र अमिनहरु खटाएको पालिकाका सूचना अधिकारी विश्वास विकले बताए । पालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता तथा राष्ट्रिय भूमिआयोग दाङका अध्यक्ष लेखराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो नाप नक्सा कार्य उद्घाटन कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, डिभिजन वन कार्यलय देउखुरीका वन अधिकृत राजु क्षेत्री, सहायक वन अधिकृत बिनोद कुमार शाह, पालिकाका प्रबक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चौधरी, पूर्व वडा अध्यक्ष जगत थापा, राष्ट्रिय भूमि आयोग दाङका विज्ञ सदस्य लक्ष्मी चौधरी, कल्पना जिसी, वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरु, विवाद सहजीकरण समितिका सदस्यहरू तथा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६