ललितपुर १६ माघ । ललितपुरको टीकाथलीमा डबल ब्ल्याकदेखि खुकुरी रमसम्म नक्कली उत्पादन हुने गरेको खुलेको छ । मदिराका बजार प्रतिनिधिले मौज्दात कम हुँदाहुँदै विभिन्न ब्रान्डका मदिरा बजारमा बिक्री भइरहेको देखेपछि यसको खोजी सुरू भएको थियो । त्यहीक्रममा ललितपुरको कुपन्डोलस्थित ‘नेक्स्ट टेस्ट लिक्वेर स्टोर’ बाट विभिन्न ब्रान्डका केही रक्सी किनेर त्यो नक्ली पाइएपछि प्रहरीकहाँ सूचना पुर्याइएको थियो ।उनीहरूले खरिद गरेका विभिन्न ब्रान्डमध्ये एउटामा नक्कली रक्सी हालेर कसैले बजारमा ब्रान्डेड भनेर बेचिरहेको सूचना दिएसँगै । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले अप्रेसन लिमा(२ सुरू गर्यो ।
प्रहरीले नेक्स्ट टेस्ट लिक्वेर स्टोरका सञ्चालक निरज उप्रेतीलाई पक्राउ गर्यो । सँगै ब्रान्डेड भनिएका नक्कली मदिरा पनि बरामद गरियो । उप्रेतीले सस्तोमा पाउने भएकाले उक्त मदिरा बिक्री गरिरहेको स्वीकारे । निरापा जले आफूलाई उक्त मदिरा गोपाल पुन मगर भन्ने व्यक्तिले ल्याइदिने गरेको बताएपनि मगर पक्राउ पर्न सकेका छैनन् । मदिरा डेलिभरी गर्दै आएका एक व्यक्तिलाई भने नियन्त्रणमा लिइएको छ ।डेलिभरी ब्वाईले ती मदिरा ललितपुरको टिकाथलीबाट ल्याउने गरेको बताएपछि प्रहरी टोली टिकाथलीस्थित एक टहरामा पुगेको थियो । पहिला स्नूकर हाउस रहेको टहरामा भान्छे तथा रेखदेख गर्दै आएका एक युवकलाई प्रहरीले फेला पारेको थियो ।त्यहाँबाट विभिन्न ब्रान्डेड मदिराका खाली बोतल, प्याक गरेर राखिएका मदिराहरू फेला परेका थिए । सिलप्याक गर्ने मेसिन, अन्त शुल्क टाँसिएका बिर्कोहरू पनि भेटिएको छ ।‘यहीँनेर बनाइने रहेछ, ती नक्कली ब्रान्डेड मदिराहरू’, अनुसन्धानमा खटिएका एक अधिकारीले सुनाए ।
टहरामा भेटिएका ती व्यक्तीमार्फत त्यहाँ बनाइने गरेको मदिरा स्टोर गर्ने अर्को ठाउँसम्म पनि प्रहरी पुग्यो । त्यहाँबाट पनि मदिराहरु फेला परे । इमाडोलस्थित कारखानामा काम गर्ने केही व्यक्तिहरूको पहिचान खुलेको थियो । तीमध्ये जडिबुटीमा थ्रीडी लिक्वेर सप सञ्चालन गर्ने भगवान बस्नेत मुख्य व्यक्ति भएको प्रहरीले निष्कर्ष निकालेको छ ।‘ विभिन्न ब्रान्डेड र सस्तो मदिराहरू उनैले त्यहाँ ल्याउने रहेछन्’, अनुसन्धान अधिकारी भन्छन् । बस्नेतको यो धन्धाको म्यानेजरको भूमिकामा विनोद कार्की रहेको बताइएको छ । गोपाल पुन मगरले सवारी साधनहरू व्यवस्थापन गरेर नक्कली मदिरालाई बजारसम्म पुर्याउने काम गरेको प्रहरीको दाबी छ ।
प्रहरी अनुसन्धानका क्रममा टीकाथलीमा बनाइने गरेको नक्कली रक्सी काठमाडौंको मित्रनगरस्थित एसटी लिक्वेर स्टोरमा पुग्ने गरेको पनि पाइयो । प्रहरीले छापा मार्दै त्यहाँबाट केही नक्कली मदिरा बरामद गरेको थियो । सो लिक्वेर सपको गोदाममा पनि छापा मारेर प्रहरीले नक्कली मदिरा बरामद गरेको दाबी गरेको छ । एसटी लिक्वेर सपका सञ्चालक धर्मी गौडेल पनि पक्राउ परेकी छिन् । प्रहरीका एक अधिकारीले सकक्ली रक्सीमा सस्तो रक्सी मिसाएर बजारमा बिक्री गर्ने गरिएको बताए ।
‘जस्तो खुकुरी रममा एपल भन्ने रक्सी मिसाउने गरेको पाइयो । भोड्कामा मुग्लान अनि जेडीमा गोल्डेन ओक हाल्ने गरेको पाइएको छ’, अनुसन्धान अधिकारीले नेपाल प्रेससँग भने ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीले विभिन्न रेस्टुरेन्ट, होटललगायत स्थानमा ती रक्सी पुर्याइने गरेको बताए ।‘दर्ता रहेकोभन्दा पनि दर्ता नरहेको पसलहरूमार्फत ती मदिराहरू बजारमा पुर्याउने गरेको पाइयो’, एसएसपी केसीले भने ।उनका अनुसार मदिरा प्याकिङका लागि विभिन्न रेस्टुरेन्ट, होटलहरूबाट खाली बोतलहरू ल्याइने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्वास्थ्यमा असर पार्ने केमिकल पनि हाल्ने गरिएको छ ।
‘मात्राभन्दा बढी केमिकलहरू प्रयोग भएको पाइएको छ जसको स्वास्थ्यमा प्रतिकूल असर हुन्छ । त्यसैले यो नक्कली सक्कलीभन्दा पनि जनस्वास्थ्यमाथी गम्भीर खेलबाडको विषय हो’, उनले भने।होटल, रेस्टुरेन्टसँग सम्पर्क गरेर अन्त शुल्क टाँसिएको स्टिकरसहितका बिर्कोहरु मगाउने गरिएको अनुसन्धानमा संलग्न बताउँछन् ।‘बिर्को खोल्दा नै होसियारी अपनाइने रहेछ जसलाई पछि नयाँ जसरी प्रयोग गर्ने गरेको पाइयो’, ती अधिकारीले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कोक, सख्खरजस्ता वस्तुहरू पनि नक्कली रक्सी बनाउन प्रयोग गरेको पाइएको छ ।
५ महिनाअघि भेटिएको थियो नक्कली मदिरा ः
५ महिनाअघि पनि प्रहरीले अन्तर्राष्ट्रिय ब्रान्डका नक्कली मदिरासहित ५ जना पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेर छुटेकाहरू पनि पछिल्लो घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।गत भदौ २७ गते कोटेश्वरस्थित हरि वली बस्दै आएको डेराबाट विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका मदिराहरू फेला परेका थिए ।अनुसन्धानका क्रममा उक्त रक्सीहरू भगवान बस्नेतले बनाएर दिने गरेको खुलेको थियो । भक्तपुरको दुवाकोटस्थित बस्नेत बस्दै आएको डेराबाट उनी पक्राउ परेका थिए । प्रहरीले बस्नेतको कोठाबाट पनि नक्कली मदिराहरु बरामद गरेको थियो ।पछिल्लो घटनामा भने बस्नेत फरार छन् । प्रहरीले कालोबजारी सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया