कपिलवस्तु, १४ फागुन ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवले देउसी भैलोको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ ।क्वलको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभा कार्यक्रमबाट भर्तापुर आधारभूत विद्यालयका प्रधानाध्यापक कमला वि।क र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर खनाललाई सो अक्षकोषको रकम हस्तान्त्रण गरिएको हो ।
२०७९ सालको देउसी भैलो कार्यक्रमबाट संकलित रकम मध्ये ५० हजार राशीको प्रयास बाल प्रतिभा पुरस्कार नामक अक्षकोष स्थापना गरीएको क्लवका अध्यक्ष हिमु खनालले जानकारी दिएका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरु भित्र रहेको अतिरिक्त क्रियाकलाप अन्तरगतको प्रतिभालाई पुरस्कार प्रदान गर्ने उद्देश्य सहित सो अक्षकोष स्थापन गरिएको क्लवका कोषाध्यक्ष विष्णु पाण्डेले बताए । प्रयास सामाजिक युवा क्लवले शनिबार कार्यालय परिसर भर्तापुरमा आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सम्पन्न साधारणसभा कार्यक्रममा क्लवका अध्यक्ष हिमु खनालको अध्यक्षता सहित वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलको प्रमूख आतिथ्यता रहेको थियो । यस्तै समासेवी हरिराज घिमिरे, नारायण खनाल, अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेल, कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषाल र संगम टोलविकास संस्थाका अध्यक्ष हरिबहादुर खनालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि र क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।क्लवका उपाध्यक्ष कृष्ण खनालको स्वागत र सचिव मिराकुमारी निउरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
१४ फाल्गुन २०७९, आइतबार
प्रतिक्रिया