कपिलवस्तु, १६ चैत्र ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–६ भगलापुरको निर्माणाधीन रिभर साइड पार्क क्षेत्रमा दुर्गा मुर्ति निर्माण भएको छ । उर्जाशील युवा कृषि उद्यमी समूहले तिहारको बेला आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट सङ्कलित रकमबाट दुर्गा भगवतीको मुर्ति स्थापना भएको भएको हो ।

बुधबार चैते दशैको अवसर पारेर मूर्तिको स्थापना गरिएको समूहका अध्यक्ष कुलराज भसालले जानकारी दिनुभयो । अध्यक्ष भुसालले मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले गत तिहारमा समूहको आयोजना र गाउँका युवाहरुको समेत सहभागितामा सम्पन्न भएको परम्परागत देउसी भैलोबाट सङ्कलित रकमबाट दुर्गा मूर्ति निर्माण गरिएको बताउनुभयो ।
समूहका कोषाध्यक्ष एवं देउसी भैलो कार्यक्रमका संयोजक हिमाल खनालले करिब ४५ हजारको लागतमा ५ फिट अग्लो दुर्गा मूर्ति निर्माण भएको जानकारी दिनुभयो । कोषाध्यक्ष खनालले मूर्ति संरक्षणका लागि आवश्यक पर्ने थप संरचना निर्माणको लागि ६ नम्बर वडा कार्यालयबाट ५० हजार बजेटसमेत विनियोजन भएको जानकारी दिनुभयो । खनालले वडा कार्यालयबाट प्राप्त हुने रकम, स्थानीय युवाहरुको श्रमदान र अन्य सहयोग समेत जुटाएर थप संरचना निर्माण गर्दै जाने बताउनुभयो ।
निर्माणाधीन पार्क क्षेत्रमा ठुलो दुर्गा मूति स्थापना हुँदा पार्कको आकर्षण बढेको पार्क निर्माण समितिका अध्यक्ष कृष्ण गैरेले बताउनुभयो ।

२० जना युवाहरुको मिलेर २०७५ सालमा स्थापना गरेको यस समूहले गाउँमा कृषि उद्यमलाई प्रवद्र्धन गर्ने कार्यका अतिरिक्त संस्कृति संरक्षण एवंं सामाजिक कार्यसमेत गर्दै आएको छ । संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपालीहरुका मुख्य चाडपर्व तिज, दशैं र तिहारमा कम्तिमा एकएक वटा परम्परागत मौलिक कार्यक्रम गर्दै आएको समूहका अध्यक्ष भुसालले बताउनुभयो । समूहले गाउँमा टेन्ट हाउस समेत सञ्चालन गर्दै आएको छ । जसमा स्थानीयहरुलाई भैपरी आउदा अति न्यून शूल्कमा सामान उपलब्ध गराउदै आएको छ भने कमजोर आर्थिक अवस्था भएका परिवारलाई निशुल्क रुपमा समेत सामान दिने गरेको समूहका सदस्य एवं टेन्ट हाउस व्यवस्थापक मिनराज पोख्रेलले बताउनुभयो ।
प्रतिक्रिया