कपिलवस्तु १८ वैशाख बढ्दो बसाइँसराइका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बसोबास गर्ने जनसङ्ख्या घट्दै गएको छ । पहाडी क्षेत्रबाट बसाइँसराइ गर्नेको सङ्ख्या तराई ओर्लेपछि तराईका सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ ।जनगणनाले देखाएको तथ्याङ्कले बसाइँसराइका कारणले पहाडी जिल्लाका बस्ती पातलिँदै गएका मात्र छैनन्, कतिपय गाउँबस्ती मानवविहीन बन्दै गएको देखाएको छ । २०४८ मा पहाडी क्षेत्रमा नेपालको ४५ दशमलव ५ प्रतिशत जनसङ्ख्या रहेकोमा त्यसको ३० वर्षपछि २०७८ मा आइपुग्दा त्यो अनुपात घटेर ४० दशमलव ३१ प्रतिशत भएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार लुम्बिनी प्रदेशका ३० वटा पालिकाको जनसङ्ख्या अघिल्लो जनगणनामा भन्दा निकै घटेको छ ।
जनसङ्ख्या ऋणात्मक हुने पहाडी जिल्लाका पालिकामा रोल्पाको एक, प्युठानका तीन, अर्घाखाँचीका पाँच, पाल्पाका नौ र गुल्मीका १२ वटा पालिका रहेका छन् । पछिल्लो दशकमा सबैभन्दा धेरै जनसङ्ख्या गुल्मीको कालीगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिकाले गुमाएका छन् ।
लुम्बिनी प्रदेशको ५५ दशमलव २ प्रतिशत जनसङ्ख्या नगरपालिका र ४८ दशमलव ८ प्रतिशत जनसङ्ख्या गाउँपालिकामा बसोबास गरिरहेको देखिएको छ । नेपालमै धेरै जनसङ्ख्या गाउँपालिकामा बसोबास गर्ने प्रदेशमा लुम्बिनी प्रदेश पहिलो स्थानमा रहेको छ ।त्यसैगरी जनगणनाका अनुसार बसाइँसराइको असर अन्यत्रभन्दा लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बढी देखिएको छ । प्रदेशका सुगम पहाडी जिल्लाहरू गुल्मी, अर्घाखाँची र पाल्पा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुनु र रोल्पा तथा प्युठानको जनसङ्ख्या वृद्धिदर ०.५ प्रतिशतभन्दा कम हुनुले यो कुराको पुष्टि गर्दछ । त्यसैगरी २०७८ को जनगणनाअनुसार प्रदेशका छ पहाडी जिल्लामा रहेका कुल तीन लाख ९४९ परिवारमध्ये ६७ हजार ५०८ परिवारका कम्तीमा एक जना सदस्य जिल्ला बाहिर र एक लाख ११ हजार २५९ परिवारका कम्तीमा एक जना सदस्य देश बाहिर रहेको देखिएको छ । जनगणनाअनुसार गुल्मीका ६९ दशमलव ६७ प्रतिशत, अर्घाखाँचीको ६९ दशमलव ३ प्रतिशत र पाल्पाका ६१ दशमलव ३६ प्रतिशत परिवारका कम्तीमा एक जना सदस्य जिल्ला बाहिर रहेका छन् । यी तीन जिल्लाका ४१ प्रतिशत परिवारका कम्तीमा एक जना सदस्य विदेशमा रहेको जनसङ्ख्याको गणनाबाट देखिएको छ ।
१९ बैशाख २०८०, मंगलबार
प्रतिक्रिया