काठमाण्डाै, ०७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताउनुभएको छ ।
आइतवार सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ती समस्याहरूलाई समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताउनुभएको हो । उहाँले रैथाने बाली, बिउबिजन, नसुल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा पालिका र समूहहरूलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । त्यसैगरी कृषि, पशुपक्षी र खाद्यसम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्तरोन्नति गरी यस्तो वस्तुहरूको ओसारपसार हुने सबै भन्सारविन्दु र मुख्य सहरहरूमा प्रयोगशाला स्थापना हुनुपर्ने सांसद गाैतमकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘मुआब्जा विवादले धेरै आयोजनाहरू सम्पन्न हुन सकेका छैनन् । देशभर भएका यस्ता समस्याहरू सम्बोधन गर्न एउटा विशिष्टीकृत संरचना बनाइनुपर्छ भन्ने पनि सरकारको नीति तथा कार्यक्रममा आओस् ।’
सांसद गाैतमले काठमाण्डाै क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्व सम्पदा सूचीमा समावेश गर्नसमेत आग्रह गर्नुभयो । विद्युतीय गाडीकाे प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया