देश

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर नेपाली ३ दिनदेखि सम्पर्कविहीन

रकम हिनाविनाको आरोप



काठमाण्डौ, ०७ जेठ । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन बन्नुभएको छ । तीन दिनअघि मेयर नेपालीसँग भेट भएको र त्यसपछि उहाँसँग सम्पर्क नभएको उपमेयर धनबहादुर कायतले बताउनुभयो । नेपालीले प्रयोग गर्ने मोबाइल फोन अफ रहेको छ ।

आज आइतवार बिहान कार्यालय जाँदा आफ्नो टेबुलमा कार्यवाहक चलाउनु भन्ने पत्र प्राप्त भएको उपमेयर कायतले बताउनुभयो । पत्रमा आफू उपस्थित नहुन्जेल कार्यवाहक चलाउनु भन्ने उल्लेख भए पनि मेयर उपस्थित हुन नसक्नुको कारण तथा कहाँ जाने भन्ने केही नखुलाएको कायतले बताउनुभयो ।

मेयर नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै गएको वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । त्यसअघि दैनिक सयौँ व्यक्ति सहकारीमा रकम फिर्ता माग्न पुग्ने गरेका थिए । नेपालीले ७० करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता गर्न बाँकी रहेको बताउनुभएको थियो । नेपाली अध्यक्ष रहेको सहकारीले १८ प्रतिशत ब्याज दिने भनेपछि सयौँ व्यक्तिले करोडौँ रुपैयाँ बचत गरेका थिए ।

यसैबीच इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् ढोरपाटनका मेयर नेपाली शुक्रवारदेखि सम्पर्कविहीन भएको निवेदन प्राप्त भएपछि खोजीका लागि प्रहरी परिचालन गरेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताउनुभयो । नेपालीको खोजीका लागि गृह मन्त्रालय तथा प्रदेश तहमा पनि पत्राचार गरिसकेको श्रेष्ठले बताउनुभयो ।

मेयर नेपालीसँगै उहाँका चालक पनि सम्पर्कविहीन बन्नुभएको छ । नेपालीले नेकपा एमालेबाट २०७४ र २०७९ मा ढोरपाटनको मेयर जित्नुभएको हो । मेयर नेपाली माथि २०७७ सालको भदौमा गएको पहिरो पीडितका लागि प्राप्त झन्डै तीन करोड रुपैयाँको हिसाब सार्वजनिक नगरेको आरोपसमेत लागेको थियो ।

प्रकाशित : ७ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६