देश

आगामि १७ गते भारत भ्रमणमा जाने प्रधानमन्त्रीको तयारी



काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको स्रोतले बतायो ।

तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन । ‘भारत जाने जेठ १७ गते फिक्स्ड भयो । अब शुक्रबार वा शनिबार प्रेस रिलिज सार्वजनिक हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन प्रेस रिलिज सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले पनि प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि भारत भ्रमणमा जाने लगभग निश्चित भएको बताए । ‘कुनै भवितव्य नपरे जेठ १७ गते नै भारत भ्रमणमा जाने हुन्छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् । जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए । जेठ १५ गते बजेट सार्वजनिक भएपछि १७ गते उनी भारत जाने तय भएको हो ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६