कृषि

उष्ण बागवानी केन्द्र नवलपुरको आँप अहिलेसम्मकै धेरै मूल्यमा ठेक्का




नवलपुर, ११ जेठ ।
उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा यस सिजन अहिलेसम्मकै धेरै मूल्यमा आँप ठेक्का लागेको छ। लालबन्दी नगरपालिका– १, नवलपुरमा रहेको देशकै ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्रले आफ्नो इतिहासमा अहिलेसम्मकै धेरै मूल्यमा आँप बेचेको हो ।

केन्द्रले यसपटक आँप एक करोड ११ लाख ६० हजार रुपैयाँमा ठेक्का लगाएको जनाएको हो । उत्पादन राम्रो हुँदा अहिलेसम्मकै धेरै मूल्यमा पहिलोपटक आँप ठेक्का लगाउन सफल भएको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले जानकारी दिए ।

यस बगानको आँप गत वर्ष केन्द्रले दुई लाख मात्रमा ठेक्का लगाएको थियो । गत वर्ष उत्पादन थोरै भएपछि आँपबाट राजस्व निकै कम संकलन भएको थियो । यस वर्ष केन्द्रले दुई करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेकोसमेत केन्द्रका निमित्त प्रमुख यादवले बताए । १८५.५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस बागवानी केन्द्रमा विभिन्न ३५ जातका ६ हजार बढी आँपका रूख रहेका छन् ।

यस्तै केन्द्रले यस वर्ष १२ लाख १८ हजारमा लिची ठेक्का लगाएको छ । गत वर्षको तुलनामा यस सिजन लिची कम फलेको केन्द्रले जनाएको छ । तर, लिचीको बजार मूल्य राम्रो भएकोले केही बढीमा ठेक्का लागेको केन्द्रका निमित्त प्रमुख यादवले जानकारी दिए । यस बागवानीमा आठ जातका ६ सय २१ बोट लिची छन् ।

बागवानीको व्यवस्थापन र स्याहारका कारण धेरै फल लागेको उनको कथन छ । ‘यस वर्ष हामीले बागवानीको राम्रो व्यवस्थापन गर्‍यौँ,’ उनले भने, समयमा मलजल र औषधि पाएर पनि बोटमा राम्रो फल लाग्यो । अन्तको तुलनामा धेरै उत्पादन भएको छ । यस बागवानीले नेपालमै पहिलोपटक फलफूलको बोटमा सजिलै स्प्रे गर्न मिल्ने मेसिन ल्याएको जनाएको छ । २४ लाख लागतमा ६० फिट माथिसम्म औषधि छर्न मिल्ने मेसिन प्रयोगमा ल्याएको केन्द्र प्रमुख यादवले बताए।

यस बागवानी केन्द्रमा भारत, पाकिस्तान र थाइल्यान्डलगायतको देशमा पाइने आँपका जातहरू बम्बई, मालदह, दसहरी, आम्रपाली, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग, अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् । अर्लिलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट रहेको यादवले बताए । यहाँ उत्पादन भएका आँप, लिची जेठदेखि भदौसम्म देशका विभिन्न सहरसम्म पुग्ने गरेका छन् । साभार नयाँ पत्रिका

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६