कपिलवस्तु ११ असार ।रूपन्देहीका १६ स्थानीय तहमध्ये १३ वटाले आइतबार आगामी आव २०८०÷८१ का लागि बजेट सार्वजनिक गरेका छन् । रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकाले आन्तरिक विवादका कारण आइतबार बजेट पेस गर्न सकेनन् । तीनवटै तहमा बजेट बाँडफाँटको विषयमा सहमति नजुटेपछि बजेट पेस हुन नसकेको हो । रोल्पाको एक र अर्घाखाँचीको एक स्थानीय तहले बजेट ल्याउन सकेन । गुल्मीका दुई स्थानीय तहले आइतबार नै नीति कार्यक्रम र बजेट एकैसाथ पेस गरेका छन् ।
बुटवल उपमहानगरपालिकाले २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । दाङका १० वटै स्थानीय तहले बजेट ल्याएका छन् । दुई उपमहानगरपालिका रहेको दाङका स्थानीय तहले कृषि उत्पादकत्व वृद्धि, शिक्षा, स्वास्थ्य, पर्यटन र स्वरोजगारलाई प्राथमिकता दिएर बजेट ल्याएका हुन् । बाँकेका आठ स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । कपिलवस्तुका स्थानीय तहले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिंदै आइतबार आगामी वर्षको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । पश्चिम नवलपरासीका सातवटै स्थानीय तहले आगामी आवको बजेट आइतबार सार्वजनिक गरेका छन् । पाल्पाका दुई नगर र आठ गाउँपालिकाले कृषि तथा पशुपालन र भौतिक पूर्वाधारलाई नै जोड दिंदै आइतबार बजेट सार्वजनिक गरेका छन् ।
गुल्मी, प्यूठान र रुकुम पूर्वका सबै स्थानीय तहले बजेट पेस गरेका छन् । अर्घाखाँचीका ६ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकाबाहेक अन्य सबैले बजेट पेस गरेका छन् । रोल्पाको गंगादेव गाउँपालिकाले बजेट ल्याउन सकेन । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान र रोल्पाका झण्डै एक दर्जन पालिकाले आइतबार नै नीति कार्यक्रम र बजेट एकैसाथ पेस गरेका छन् ।
११ असार २०८०, सोमबार
प्रतिक्रिया