बुटवल १५ असार । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने दिन । मानो रोपेर मुरी उब्जाउने महिना भएपनि वर्षा नहुँदा किसान चिन्तित बनेका छन् । आधाअसार विते पनि लुम्बिनी प्रदेशमा धान रोपाईको अवस्था भने निराशाजनक देखिन्छ ।प्रदेशमा अहिलेसम्म करिब ११ प्रतिशतमात्रै रोपाई भएको कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासीनिले जानकारी दिए । समयमै वर्षा नहुँ दाधान उत्पादनमा गिरावट आउन सक्ने देखिएको छ । गत वर्ष यहि अवधीमा करिब ३२.७१ प्रतिशित रोपाई भएको थियो । अहिले गत वर्षको भन्दा २१.६२ प्रतिशतले कम रोपाई भएको हो ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता अनिल मरासीनिका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाई कपिलबस्तु र सबै भन्दा कम रुकुम पूर्वमा हुन्छ ।कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुन्छ भन्ने रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुन्छ । जसमध्ये कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात धान रोपाई हुने क्षेत्रफलको ६ प्रतिशत रोपाई भएको छ भने रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाईँ सकिएको छ ।
यस्तै रुपन्देहीमा ८ प्रतिशत रोपाई सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाईँ भएको छ ।यस्तै धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाई सकिएको छ । दाङ जिल्लामा धान रोपाई हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा धान रोपाई भइसकेको छ भने बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा अर्थात १० प्रतिशत रोपाईँ सकिएको छ ।
१५ असार २०८०, शुक्रबार
प्रतिक्रिया