रुपन्देही १७ असार । नेकपा एमालेले सरकारको गैरजिम्मेवारी व्यवहारले लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको जनाएको छ ।एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बलमिच्याइँ गर्दै सरकार अघि बढेको बेला सदन स्थगित हुन पुगेको र यसको जिम्मेवार प्रदेश सरकार रहेको जिकिर गरेका छन् ।आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत प्रदेशका निर्देशनालय खारेज गर्ने, विगत सरकारले सञ्चालन गरेका क्रमागत योजनाहरु कटौती गर्ने, बहुवर्षीय योजनाहरुलाई अलपत्र पार्ने उद्देश्यका साथ थोरै बजेटको व्यवस्था गर्ने र सरकारको सम्पूर्ण ध्यान संघीयताको मर्म र भावनालाई कमजोर बनाउन उद्यत रहिरहेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले बारम्बार संवादको लागि कोसिस गर्दा समेत बलमिच्याइँ गर्दै जनविरोधी कार्यमा सरकार अघि बढ्न खोजेकाले आइतबारको सदन स्थगित हुन पुगेको उनले जनाएका छन् ।‘एमाले सहमति र सहकार्यको पक्षमा सधैं अडिग रहँदै आएको छ । तर, सरकार एकलकाँटे, संविधानको मर्म र भावनाका विरुद्धमा एकपछि अर्को निर्णय गर्दै अघि बढिरहेको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ,‘ तसर्थ सभा स्थगित हुनुमा प्रदेश सरकार नै जिम्मेवार रहेको कुरा यसै बक्तव्यमार्फत सम्पूर्ण प्रदेशवासीमा जानकारी गराउँदछौं ।’
१७ असार २०८०, आइतबार
प्रतिक्रिया